
काठमाडौं, साउन ५ । सत्ता किचलोका कारण फुटको मुखमा पुगिरहेको सत्तारुढ नेकपाको आन्तरिक समीकरणमा पनि फेरबदलको संकेत देखिएको छ ।
पूर्व एमाले र माओवादी खेमामा नेताहरुबीच एकमत नदेखिएको हो । दुबै खेमामा नेताहरु अदल बदलको संकेत मिलेको छ । माधव नेपाल, झनाथ खनाल, बामदेव गौतमहरु प्रधानमन्त्री केपी ओलीको विपक्षमा उभिँदा पूर्व माओवादीका रामबहादुर थापा र लेखराज भट्ट भने ओलीतिर निकट देखिनुभएको हो ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले सोमबार आफ्नो निवास खुमलटारमा बोलाएको आफू पक्षीय स्थायी कमिटी सदस्यहरुको छलफलमा थापा र भट्ट अनुपस्थित रहनुले समीकरण फेरबदल देखिएको हो ।
दाहाल निवास खुमलटारमा पूर्व माओवादी खेमाका नेताहरु भेला भए पनि उद्योगमन्त्री लेखराज भट्ट जानु भएन । दाहाल निवास पुग्नुभएपनि गृहमन्त्री थापा भने काम छ भनेर निस्कनुभएको बताइएको छ ।
प्रधानमन्त्री ओलीलाई हटाउने अभियान पार्टीभित्र जोडतोडले चलिरहँदा त्यहाँभित्रको आन्तरिक सत्ता समीकरणमा पनि नेताहरु तानातानमा परेका छन् । अध्यक्ष दाहाल नेता नेपाललगायत ओलीलाई कसैगरी हटाउने अभियानमा हुनुहन्छ भने ओली कुनै हालतमा पद नत्याग्ने अडानमा हुनुहुन्छ ।
दाहालले बोलाएको छलफल पूर्व माओवादी पक्षीय नेताहरुबीच ओलीसँग सम्झौता गरेर अघि बढ्ने कि नेपालको साथ लागेर ओालीलाई हटाउने भन्नेमा केन्द्रित रहेको जनाइएको छ ।
ओलीले आउँदो मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव ल्याएपछि दाहाल अलमलमा परेको आशंका नेपाल–खनला पक्षले गरेको छ भने दाहालले ओलीको प्रसतावमा आफ्नो समर्थन नरहेको प्रष्टीकरण नै दिनुपरेको छ ।
प्रतिक्रिया दिनुहोस्