
काठमाडौं, साउन ५ । विश्व बैंकको १४ अर्ब बराबर ऋण सहयोगमा युवारुप आयोजनाको शुभारम्भ गरिएको छ ।
आयोजना मार्फत ७५ हजार विपन्न बेरोजगार युवालाई एक सय दिनको ज्याला उपलव्ध गराइने भएको छ ।
आन्तरिक रोजगारीलाई प्रबद्र्धन गर्न विश्व बैंकको ऋण सहयोगमा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना (युवारुप) को शुभारम्भ गरिएको हो ।
आयोजनाको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सोमबार संयुक्तरुपमा शुभारम्भ गर्नुभएको हो ।
आर्थिक रुपमा बिपन्न बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिबृद्धी र रोजगारमूलक सेवाको विस्तार मार्फत श्रम बजारको परिमाणमा सुधार ल्याउने लक्ष्यका साथ यो आयोजना शुरु गरिएको जनाइएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आवद्ध गरी आगामी चार बर्षसम्म सञ्चालन हुने यस आयोजनाको कुल रकम १२० मिलियन अमेरिकी डलर अर्थात् करिब १४ अर्ब रूपंैयाँ बराबर रहेको छ ।
मन्त्री यादवले कोभिड—१९ का कारण विश्वमै रोजगारीका क्षेत्रमा आएको संकुचनले नेपालको श्रम बजार प्रभावित भएको अवस्थामा यस आयोजनाले टेवा पुर्याउने बताउनुभयो ।
तीनै तहबाट परिणाममूखी कार्यान्वयन आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभयो ।
विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले आयोजनाले चालु आर्थिक वर्षमा सामाजिक र आर्थिक जोखिममा रहेका करिब ७५ हजार विपन्न बेरोजगार युवालाई सार्वजनिक पूर्वाधारको मर्मत संभार तथा स्तरोन्नती गर्ने कार्यमा परिचालन गरी एक सय दिनको ज्याला उपलव्ध गराउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्