
काठमाडौं, साउन ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पूर्व माओवादीपक्षीय नेताहरुले विवाद र समाधान जे गरेपनि केपी ओलीसँगै गर्नुपर्ने र पार्टीलाई फुटबाट जोगाउनुपर्ने निष्कर्ष निकालेका छन् ।
अध्यक्ष पुष्पकमल दाहालले ललितपुरस्थित आफ्नो निवास खुमलटारमा पार्टीभित्रको विवादको विषयमा पूर्वमाओवादी पक्षीय स्थायी कमिटीका सदस्यहरुसँग गरेको छलफलमा सबैले पार्टी एकता जोगाउँदै विभाजन गर्न खोज्नेहरुलाई निरुत्साहित गर्नुपर्नेमा एकमत जाहेर गरेका थिए ।
यद्यपि, मंसिरमा पार्टी महाधिवेशन गर्ने अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा असहमत रहेका उनीहरुले यो अल्मल्याउने जालमात्र भएको बताएका छन् ।
छलफलमा अध्यक्ष दाहालले सहस्यहरुलाई पछिल्लो केन्द्रीय कमिटीदेखि आइतबारसम्म भएको वैठकका निष्कर्ष सुनाउनु भएको थियो । केपी ओलीले मंसिरमा एकता महाधिवेशन गरेर अध्यक्ष बनाउने तर जनताको बहुदलीय जनवाद (जबज)लाई स्वीकार्नुपर्ने शर्त राखेको जानकारी दाहालले अरु नेताहरुलाई सुनाउनुभएको एक नेताले जानकारी दिनुभयो ।
त्यही प्रस्तावमा सहमत गराउन शनिबार सचिवालय बैठक लगतै प्रधानमन्त्री ओलीले आफूलाई राष्ट्रपति कार्यालय शीतल निवास लगिएको पनि उहाँले जानकारी दिनुभयो ।
सदस्यहरुले स्थायी कमिटीको बैठक नलम्ब्याएर निष्कर्षमा पुर्याउन सुझाव दिएका थिए । पार्टीमा देखिएको समस्या समाधानका लागि पहिलो अध्यक्ष र प्रधानमन्त्री भएकाले ओलीले निकास दिनुपर्ने निष्कर्ष निकालिएको छ ।
सदस्यहरुले नथाकिकन जति पटक बालुवाटार गए पनि एकता जोगाउन सुझाएका थिए । सदस्यहरुले कोभिड १९ र बाढी पहिरोमा पनि ध्यान दिन आग्रह गरेका थिए । बैठकमा लेखराज भट्टबाहेक अरु सहभागि भएका थिए ।
प्रतिक्रिया दिनुहोस्