
नवलपुर, साउन ६ । लगातारको वर्षाका कारण आएको बाढी पहिरोले नवलपरासीमा दुई जनाको मृत्यु भएको छ ।
एक जना बेपत्ता भएका छन् । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–२ डाडाँझेरी गाउँको टाँडीमा सोमबार राती पहिरोले घर बगाउँदा एक दम्पत्तिको मृत्यु भएको छ ।
विकट पहाडी गाउँमा पहिरोले घर बगाउँदा ६१ वर्षीय शेरबहादुर नेपाली र उनकी ५७ वर्षीया श्रीमती खिलमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक प्रवक्ता मोहन खाँडले जानकारी दिनुभयो ।
घरमा नेपाली दम्पत्ति मात्रै थिए । दम्पत्तिका छोरा, बुहारी र नाती नातिनी नजिकै रहेको अर्को घरमा सुतेकाले उनीहरु भने सकुशल रहेका छन् ।
यसैबीच पहिरोले बुलिङटार र बौदिकाली गाउँपालिका जाने मोटर बाटो अवरुद्ध भएका छन् ।
यता पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ थारुटोलाका ३२ वर्षीय सन्तु चौधरीलाई नदीले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्