
काठमाडौं, साउन ६ । हिउँदबाट नै औषतभन्दा बढी वर्षा भएकाले मनसुनमा बाढी पहिरोका घटनाहरु बढेको मौसम विज्ञान विभागले जनाएको छ ।
हिउँदमा औषतभन्दा २ सय ३० प्रतिशत बढी वर्षा भएको र मनसुनमा समेत १ सय ३० प्रतिशत बढी वर्षा भएकाले पहिरोका घटनाहरु बढेको विभागले जनाएको हो ।
विभागका महानिर्देशक सरजु वैद्यले हिउँदको वर्षाले जमिन भिजेको र गलिसकेका कारण मनसुन सुरु हुने वित्तिकै ठाउँठाउँमा घटनाहरु घटेको बताउनुभयो ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा महानिर्देशक वैद्यले साउन ९ गतेसम्म मनसुन सक्रिय रहने र त्यसपछि क्रमिक रुपमा वर्षा कम हुने बताउनुयो ।
विगत तीन दिनयता प्रदेश नम्बर २, ५ र गण्डकी प्रदेशमा १ सय ५० देखि २ सय मिमिलिटर पानी परेको छ ।
मनसुन सुरु भएयता प्रदेश नम्बर १ , २, र ५ मा औषतभन्दा २ सय प्रतिशत बढी पानी परेको छ ।
विभागले कोसी नदीको चतरा, बागमती नदीको खोकना, नारायणी नदीको देवघाटमा खतराको तह पार गरेको बताएको छ ।
नारायणी नदीको देवघाट, अरुणको सिम्ले, तमोरनदी र त्रिवेणी नदीमा जल सतह खतराको तहमा पुगेकोले सतर्कता अपनाउन महानिर्देशक सरजुले बताउनुभयो ।
मंगलबार सुस्ता आसपास र तटिय क्षेत्रमा डुबानको जोखिम रहेको उहाँले बताउनुभयो ।
आगामी तीन दिनसम्म प्रदेश नम्बर १, २, ५, बागमती र गण्डकी प्रदेशका नदीहरुमा बाढीको जोखिम रहेको विभागले जनाएको छ ।
विभागले बाढीको पूर्व सूचना समेत प्रदान गरिरहेको छ ।
मनसुन सुरुभएयता मात्रै ५० लाख १७ हजार २ सय ३३ वटा मोबाइल एसएमएस मार्फत पूर्व सूचना दिइएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्