
बुटवल, साउन ६ । प्रदेश नं ५ सरकारको सामाजिक विकास मन्त्रालयले प्रतिकार्य योजनाअन्तर्गत स्वास्थ्य आपत्कालीन हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ ।
प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपको क्षति न्यूनीकरण गर्दै नागरिकको जीउधनको संरक्षण गर्न निःशुल्क हेल्पलाइन सेवा सञ्चालन गरिएको हो ।
हेल्पलाइन सेवाको मंगलबार प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले शुभारम्भ गर्नुभयो ।
उहाँले हेल्पलाइन सेवाले आपत्कालीन स्वास्थ्य सेवा तथा सामाजिक परामर्श स्वास्थ्यसम्बन्धी अद्यावधिक सूचना जानकारी लिन नागरिकलाई सहज हुने बताउनुभयो ।
हेल्पलाइन सेवा बिहान ७ देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।
राति ७ देखि बिहान ७ बजेसम्म फोन कललाई रेकर्ड गर्ने संयन्त्रको व्यवस्था मिलाइएको मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत शैलेन्द्रकुमार पाण्डेले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्