
कर्णाली, साउन ७ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब रु. एक लाख राजश्व सङ्कलन गरेको छ ।
कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति रु. १०० का दरले रु एक लाख पाँच हजार ९०० राजश्व सङ्कलन गरेको हो ।
कोभिड १९– को सङ्क्रमण फैलिनबाट रोक्न गृह मन्त्रालयले असार २२ गते सबै जिप्रकालाई मास्क नलगाई बाहिर निस्कनेलाई रु. १०० जरिवाना निर्देशन दिएको थियो ।
सरकारको निर्देशनानुसार प्रहरीले मास्क प्रयोग नगरी घर बाहिर निस्कनेबाट नगदी रसिद बुझाउँदै जरिवाना असूल गरेको हो ।
सुर्खेतका सहायक प्रजिअ भीमकान्त पौडेलले अटेरी गरी बाहिर निस्कनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाहीस्वरुप जरिवाना तिराइएको बताउनुभयो ।
यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले समेत लकडाउन उल्लङ्घन गर्ने ५८३ सवारी साधन नियन्त्रणमा लिई सवारीधनीलाई कारवाही गरेको छ ।
त्यसबाट रु. पाँच लाख ८९ हजार ५०० राजश्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्