८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा एक तह फरक


0
Shares

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी उद्योगलाई संरक्षण गर्ने गरी कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा एक तह फरक पारिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबारको बैठकमा अर्थमन्त्री खतिवडाले सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने गरिनै भन्सारका दरहरु तय गरेको बताउनुभएको छ ।

भन्सार दर पुनरावलोकन मार्फत स्वदेशी उद्योगहरुको संरक्षण सम्बन्धमा समितिमा भएको छलफलका क्रममा सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिदै अर्थमन्त्री खतिवडाले स्वदेशी उद्योगलाई संरक्षण गर्न तयारी वस्तुको भन्सार दर कच्चा पदार्थको भन्दा एकतह माथि राखिएको बताउनुभयो ।

आयातित वस्तुबाट न्यूनतम १० देखि बढीमा २० प्रतिशत सम्मको संरक्षणमा उद्योग व्यवसायहरु रहेको उहाँले बताउनुभयो ।

उहाँले मूल्य वृद्धिलाई नियन्त्रण गर्न पनि कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा धेरै फरक गर्न नहुने र उद्योगी व्यवसायीहरु अहिले २० प्रतिशत भित्रै रहेर प्रतिस्पर्धी बन्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले राजस्व बोर्ड गठन गरी राजस्व सम्बन्धमा स्वतन्त्र रुपमा काम गर्न दिने व्यवस्था गर्न लागिएको बताउनुभयो ।

कर सम्बन्धमा हुने समस्या समाधानका लागि बोर्डले प्रभावकारी काम गर्ने उहाँले बताउनुभयो ।

सार्वजनिक खरिद ऐनले १५ प्रतिशत महँगो भएपनि स्वदेशी वस्तु खरिद गर्नुपर्ने व्यवास्था गरेकाले पनि स्वदेशमा उत्पादन हुने वस्तुको प्रयोगको सुनिश्चितता भएको उहाँले बताउनुभयो ।

उहाँले वस्तुको गुणस्तर, समयमा आपूर्ति गर्ने र भनेको मात्रामा आपूर्ति गर्न सक्ने क्षमता विकास गर्दै त्यसको आधारबाट स्वदेशी उद्योगलाई संरक्षण दिने कुरामा सरकारले काम गरिरहेको बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले व्यवसायीले दिने र सरकारले लिने भन्ने धारणामा परिवर्तन गर्न समेत आग्रह गर्नुभयो । बैठकमा उर्जा सचिव दिनेश कुमार घिमिरेले नेपालमा उत्पादन भएका वस्तुको प्रयोग गर्ने सम्बन्धमा उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय स्पस्ट रहेको बताउनुभयो ।

उहाँले नेपालमा उत्पादन हुने वस्तुको गुणस्तर पुगेमा र माग अनुसार आपूर्ति हुन सकेमा १५ प्रतिशत सम्म महँगो भएपनि प्राथमिकता दिने व्यवस्था अनुसार नै स्वदेशी वस्तुको प्रयोग भइरहेको बताउनुभयो ।

बैठकमा सांसदहरुले उर्जा र सञ्चार क्षेत्रका आयोजनाहरुमा नेपालमै उत्पादित वस्तुको प्रयोग बढाउनुपर्नेमा जोड दिएका थिए ।