२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


देशभरका धार्मिक स्थलको जग्गा अतिक्रमण भए/नभएको एकीन गर्न निर्देशन


0
Shares

काठमाडौं, साउन ८ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देशभरीका धार्मिक स्थलहरुको जग्गा अतिक्रमण भए/नभएको एकीन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकले पशुपतिनाथ, चाँगुनाराण, लुम्बिनी, जानकी मन्दिर लगायत धार्मिक स्थलहरुको जग्गा अतिक्रमण भएको पाइएमा योजनाअनुसार सम्बन्धित निकायको जिम्मा लगाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिकी सभापति पवित्रा निरौलाले परम्परागत सीप र कलालाई नयाँ पुस्तामा हस्तान्तरण गनुपर्ने भन्दै विद्यालय र विश्वविद्यालयको पाठ्यक्रम विकास गर्दै दक्ष र व्यवहारिक कालिगढ उत्पादन गर्ने योजना बनाउन पनि निर्देशन दिनुभयो ।

बैठकमा समिति सदस्य दिव्यमणि राजभण्डारीले अयोध्या र ठोरीका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई व्यक्तिगत रुपमा लिन नहुने बताउनुभयो ।

उहाँले ठोरीको अनुसन्धानका लागि के व्यवस्था भएको छ कति अनुसन्धान भएको छ भन्ने प्रश्न गर्नुभयो ।

बैठकमा समिति सदस्य नारदमुनि रानाले प्रधानमन्त्रीको अभिव्यक्तिपछि ठोरीको विषय राष्ट्रिय बहसको विषय बनेको बताउनुभयो ।

उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध भारतमा जन्मेका हुन भन्दै अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै रामको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका विषयमा पुरातत्व विभागले अनुसन्धान अगाडी बढाउनुपर्ने बताउनुभयो ।

बैठकमा समिति सदस्यहरुले देशको कार्यकारी प्रमुखलेनै कुरा उठाएपछि त्यसलाई पुरातत्व विभागले उत्खनन गर्दै अध्ययन अगाडी बढाउनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले भानु जयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा राम नेपालमा जन्मेको र भारतमा रहेको अयोध्या नक्कली भएको अभिव्यक्ति दिनुभएको थियो ।