१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकासँग चीनले लियो बदला, छेन्दुको महावाणिज्य दूतावास बन्द गर्न आदेश


0
Shares

us china dispute consulate office closed chhengdu office

एजेन्सी, साउन ९ । अमेरिका र चीनबीचको टकराव एकार्काको महावाणिज्य दूतावास बन्द गराउने तहमा ओर्लिएको छ । दुबै देशले एकार्का देशमा रहेका वाणिज्य दूतावासहरु बन्द गर्न भनेका छन् ।

अमेरिकाले टेक्सासको ह्युसटनसिथत आफ्नो महावाणिज्य दूतावास बन्द गर्न आदेश दिएपछि क्रोधित बनेको चीनले पनि बदलामा छेन्दुमा रहेको महावाणिज्य दूतावास बन्द गर्न अमेरिकालाई भनेको छ ।

शुक्रबार चिनियाँ विदेश मन्त्रालयले स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सिचुवान प्रान्तको राजधानी छेन्दुस्थित अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न आदेश दिएको हो । यो कार्यालय अमेरिकाले सन् १९८५ मा खोलेको थियो ।

२ सय कर्मचारी काम गर्ने यो कार्यालय तिब्बतसँग जोडिएको प्रान्तमा भएकाले पनि निकै नै रणनीतिक महत्वको मानिएको छ ।

आफूले चालेको कदम वैधानिक र अमेरिकी अन्यायपूर्ण कार्यको आवश्यक जवाफ भएको भन्दै चीनले यो अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यता र कूटनीतिक अभ्यासअनुरुप भएको दावी गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘चीन–अमेरिका सम्बन्ध अहिले जुन अवस्थाबाट गुज्रिरहेको छ यो चीनले हेर्न चाहेको दृश्य होइन यसका लागि पूर्ण रूपमा अमेरिका जिम्मेवार छ । हामी फेरि पनि अमेरिकालाई आफ्नो गलत निर्णय तत्काल फिर्ता लिएर दुई देशको सम्बन्धलाई पुरानै लयमा ल्याउने वातावरण बनाउन आग्रह गर्छौं ।’

यसअघि अमेरिकाले ७२ घन्टे सूचना दिएर ह्युसटनस्थित चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको थियो । बौद्धिक सम्पत्ति चोरीको आरोपसमेत अमेरिकाले चीनमाथि लगाएको छ ।

टकराव चुलिएकै बेला अमेरिकी संघीय जाँच ब्युरोले चिनियाँ जनमुक्ति सेनाले छद्मभेषमा आफ्ना वैज्ञानिक अमेरिका पठाएको आरोप पनि लगाएको छ ।

पिएलएले अमेरिका पठाएकी एक महिला वैज्ञानिक सानफ्रान्सिस्कोको चिनियाँ महावाणिज्य दूतावासमा लुकेको दावी अमेरिकी सञ्चारमाध्यमले गरेका छन् ।