१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


असनमा फुटपाथ हटाउन खोज्दा विवाद


0
Shares

काठमाडौं, साउन ११ । काठमाडौंको असनमा स्थानीय युवा समूहले फुटपाथ हटाउन गरेको आग्रह व्यापारीले नमानेपछि विवाद भएको छ ।

कोरोना संक्रमण जारी रहेको बेलामा असनका फुटपाथमा पसल राख्दा सर्वसाधारणको आवागमनमा बाधा पर्ने र संक्रमणको जोखिम थप हुने भन्दै स्थानीय युवाहरुले करिब दुई महिनादेखि फुटपाथमा पसल राख्न रोक लगाउँदै आएपनि व्यापारीहरुले अटेर गर्दै आएका छन् ।

स्थानीय युवा समूहका संयोजक चन्द्रकुमार महर्जनले कोरोनाको महामारी नियन्त्रण नभएसम्म फुटपाथमा व्यापार गर्न नदिने बताउनुभयो ।

तर व्यवसायीहरुले भने कोरोनाका कारण लामो समय लकडाउन भएको र बजार खुल्ने बित्तिकै फुटपाथबाट हटाउँदा आफूहरुको विचल्ली हुने बताएका छन् ।

उनीहरुले वर्षौदेखि सञ्चालन गर्दै आएको व्यवसाय नहटाउने अडान लिएका छन् ।

स्थानीय युवाहरुले काठमाडौं महानगरपालिकालाई पटक पटक आग्रह गर्दा पनि बेवास्ता गरेकाले फुटपाथ हटाउने अभियानमा लागेको बताएका छन् ।