१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘भ्रष्टाचार बढेको होइन, अख्तियारको सक्रियता बढेको’: प्रमुख आयुक्त घिमिरे


0
Shares

nabin ghimire corruption abuse of authority CIAA

काठमाडौं, साउन ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले एक रुपैयाँ घूष लिनेलाई पनि नछाड्ने गरी आयोगले काम गरिरहेको दाबी गर्नुभएको छ ।

साना आकारको घूष खाने र अनियमितता गर्नेको पछि लाग्ने तर ठूला भ्रष्टाचारीहरुलाई खुलेआम छाड्ने गरेको आरोप आयोगमाथि लागिरहेका बेला घिमिरेले साना ठूला सबै भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याइने जिकिर गर्नुभयो ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुखआयुक्त घिमिरेले भन्नुभयो, ‘एक रुपैयाँ खाए पनि भ्रष्टाचार भ्रष्टाचार नै हो, हामी साना ठूला भनेर बस्दैनौं ।’

अर्बोअर्बको भ्रष्टाचारका काण्डमा आँखा लगाउन नसकेको तर स्टिङ अपरेशनको नाममा अख्तियारले प्रचारवाजी गरेको भन्ने सांसदहरूको प्रश्नको बचाउका लागि घिमिरेले निकै प्रयास गर्नुभयो ।

उहाँले सेवाग्राही र सेवा प्रदायकबीचको टेलिफोन कन्भरसेसन लगायतका आधारमा मात्रै आयोगले स्टिङ अपरेसन गर्ने गरेको र यस्तो अपरेसनमा आयोग पूर्वाग्रही नभएको दलिल पनि घिमिरेले पेश गर्नुभयो ।

भ्रष्टाचार बढेको नभई आयोगको सक्रियता बढेकाले त्यस्तो भान मानिसमा परेको तर्क गर्न पनि उहाँले भ्याउनुभयो ।

राजनीतिक पावर सेन्टरहरु भ्रष्टाचारका केन्द्र हुन्ः जनार्दन शर्मा

बैठकमा समिति सदस्य एवं सत्तारुढ नेकपाका नेता जनार्दन शर्माले भ्रष्टाचारको केन्द्र राजनीतिक क्षेत्र नै भएको जिकिर गर्दै भ्रष्टाचार कति छ भन्ने थाहा पाउन पावर सेन्टरहरुमा हेर्न अख्तियारलाई सुझाउनुभयो ।

पूर्वमन्त्री शर्माले भन्नुभयो, ‘जहाँ पावर छ, त्यही भ्रष्टाचारको केन्द्र हो । हाम्रा राज्यका शक्ति केन्द्रहरु हेरौं, त्यही भ्रष्टाचार छ । नाम किन लिनुपर्‍यो, म, म भने भइहाल्यो । मैले भन्ने के हो भने राजनीतिक क्षेत्र नै भ्रष्टाचारको केन्द्र हो ।’

राजनीतिक भागवण्डाका आधारमा अख्तियारमा नियुक्ति गरिँदा समस्या भएको भन्दै उहाँले अहिलेभन्दा स्वतन्त्र अख्तियार नबनाइए भ्रष्टाचार नियन्त्रण गर्न नसकिने प्रष्ट गर्नुभयो ।

भ्रष्टाचारीलाई कारबाही गरे सिंहदरबारभित्र दुईचार जनामात्र बाँकी रहन्छन्ः सांसद सुवाल

बैठकमै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सिंहदरबारभित्र भ्रष्टाचारीलाई कारवाही गरेमा दुईचार जनामात्र बाँकी रहने भन्दै कसले कति कमाएको छ, कति कर तिर्यो त्यो सरकारले सार्वजनिक नगरेकामा आपत्ति जनाउनुभयो ।

संसारमा प्रधानमन्त्री, राष्ट्रपति, सांसद भ्रष्टचार गरेर कारबाहीमा पर्छन् तर नेपालमा किन पर्दैनन् ? भन्दै प्रश्न गर्नुभयो ।

राजनीतिक दलले नै अख्तियारमा पदाधिकारी नियुक्त गरेपछि उनीहरुलाई कसले कारवाही गर्ने भन्दै अख्तियारका प्रमुखआयुक्तसहितलाई प्रश्न गर्नुभयो ।

उहाँले भ्रष्टाचार अभियोगमा समातिएका कर्मचारी कुन–कुन ट्रेड युनियनका कर्मचारी हुन् त्यो सार्वजनिक गर्न माग गर्नुभयो ।