१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


साझा पार्टी र विवेकशील दलबीच पुनः एकताको प्रयास, वार्ता टोली गृहकार्यमा (भिडियो)


13
Shares

अक्कल कुँवर र लक्ष्मणमान डंगोल (ईमेज)

काठमाडौं, साउन ११ । पार्टी विभाजनको झण्डै डेढ वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दलबीच पुनः एकताको बहस सुरु भएको छ ।

पार्टी एकता गर्नकै लागि दुवै दलले कार्यदल गठन गरेर अनौपचारिक छलफल गरिरहेका छन् । पार्टी एकताले मूर्त रुप लिन भने केही समय अझै लाग्ने भएको छ ।

मुलुकको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्घोष गर्दै वि. स. २०७४ साल साउन ११ गते साझा पार्टी र विवेकशील नेपाली दलबीच एकीकरण भएर विवेकशील साझा पार्टी गठन भएको थियो ।

एकतापछि सुरुका दिनमा विवेकशील साझा पार्टीले राजनीतिक गतिविधि तीव्र बनाउनुका साथै विशेष युवाहरुको मन जित्न सफल भयो ।

तर, खासै सैद्धान्तिक र वैचारिक मतभेद नभएपनि कार्यशैलीमा तालमेल नमिलेको भन्दै पार्टी एक भएको साढे एक वर्ष पूरा नहुँदै २०७५ साल पुस २७ गते पार्टी विभाजन भयो ।

विभाजनपछि साझा र विवेकशीलका हरेक राजनीतिक गतिविधिहरु प्रभावहिन देखिए । आफ्ना हरेक तह र तप्कामा राजनीतिक तथा सामाजिक गतिविधि प्रभावहिन हुँदै जानुका साथै नागरिकको साथ पाउन छोडेपछि दुवै दल पुनः एकताको प्रयासमा जुटेका छन् ।

साझा पार्टीको फागुन १५ देखि १७ गतेसम्म लुम्बिनीमा सम्पन्न विचार मिल्ने पार्टीसँग एकता गर्ने औपचारिक निर्णय गरेको थियो भने गत वैशाख २१ गतेदेखि २८ गतेसम्म बसेको विवेकशील नेपाली दलको संघीय समिति बैठकले पनि विचार मिल्ने शक्तिसँग एकताको लागि भन्दै संवाद समिति गठन गर्‍यो ।

साझा पार्टीका संगठन विभाग प्रमुख केशव दाहाल र विवेकशील पार्टीका महासचिव निर्देश सिलवालको नेतृत्वमा रहेका कार्यदलबीच अनौपचारिक सम्वाद पनि भइरहेको छ ।

कार्यशैलीमा परिर्वतन ल्याएको अपेक्षासहित साझा पार्टीसँग एकताको लागि तयार भएको र यसको परीणाम आउन भने अझै समय लाग्ने विवेकशील नेपाली दलको भनाई छ ।

कार्यशैलीमा मात्र भिन्नता भनिएपनि साझा र विवेकशील पार्टीबीच संघीयता र धर्मनिरपेक्षतालाई हेर्ने दृष्टिकोणमा भिन्नता छ ।

साझा पार्टी संघीयता र धर्मनिरपेक्षता बारे जनमत संग्रहमा जानुपर्ने मान्यता राख्दै आएको छ भने विवेकशील यो मान्यतामा असहमत देखिन्छ ।

एकताको बहससँगै दलभित्र असन्तुष्टि समेत देखिएको छ । साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्य र नेता मुमाराम खनाल पार्टीबाट अलग भएका छन् ।

भिडियो हेर्नुहोस्