२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


एकता जोगाउने नाममा गलत प्रवृति सहिन्नः पुष्पकमल दाहाल


0
Shares

prachanda politics

काठमाडौं, साउन १७ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने भन्दै त्यसको निक्र्यौल गर्नुपर्ने बताउनुभएको छ ।

तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको कार्यक्रममा दाहालले पार्टीभित्रको बहस नेतृत्व प्राप्तिको संघर्ष मात्र नभई पद्धति बसाउनका लागि भएको दाबी पनि गर्नुभयो ।

पद प्राप्तिका लागि तँछाडमँछाड भइरहेको भन्ने प्रचार गर्न खोजिएको भन्दै उहाँले बहस पार्टीलाई कसरी अगाडि बढाउने ? विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्नेमा केन्द्रित रहेको बताउनुभयो ।

नेकपाभित्रको बहसलाई प्रतिक्रियावादीहरूले पद प्राप्तिको झिनाझम्टीसँग जोडेको भन्दै उहाँले भन्नुभयो, ‘पदका लागि होइन, राष्ट्र र जनताको सेवा नै मुख्य हो । पद हाम्रो विषय होइन । राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौं ।’

कम्युनिष्ट पार्टी विचार र पद्धतिमा चल्ने भएकोले बहस स्वभाविक हुने भन्दै उहाँले थप्नुभयो, ‘बहस गर्दा पार्टी फुट्न लाग्यो, छियाछिया हुन्छ भन्ने होइन, पार्टीभित्र तीखो बहस हुन्छ । बुर्जुवाहरूमा भने तीखो बहस हुन्न, लुटेर खाने कुरामा उनीहरू एक हुन्छन् ।’