
काठमाडौं, साउन १९ । चरम सत्ता संघर्षमा रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच आज पनि छलफल भएको छ ।
दुई नेताबीच आइतबार चार दिन लामो संवादहीनता तोड्दै करिब तीन घण्टा वार्ता भए पनि कुनै सहमति भएको थिएन । छलफललाई निरन्तरता दिने सहमति अनुसार आज चार जना नेताहरु छलफलमा जुटेका हुन् ।
छलफलमा अध्यक्ष दाहालले वरिष्ठ नेता झलनाथ खनाललाई लिएर जानुभएको छ भने ओलीसँग संसदीय दलका उपनेता सुवास नेम्बाङ हुनुहुन्छ ।
आइतबार सहमति बन्न नसकेपनि आज कुनै न कुनै निचोडमा पुग्ने नेता नेम्बाङले बताउनुभएको थियो ।
प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट हटाउने भन्दै नेकपाभित्र तीब्र ध्रुवीकरण भएको छ । तर ओली भने कुनै हालतमा पद नत्याग्ने अडानमा हुनुहुन्छ ।
गत मंगलबार बोलाइएको पार्टी स्थायी कमिटी बैठक अध्यक्ष ओलीले एकलौटी रूपमा स्थगित गरेपछि दाहाल र खनालले ओलीलाई आपत्ति जनाउँदै आफूहरुले बैठक चलाउने सूचना दिनुभएको थियो । त्यस यता स्थायी कमिटी बैठक पनि बस्न सकेको छैन ।
पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीमा बहुमत गुमाउनु भएका ओलीलाई पद जोगाउन निकै हम्मेहम्मे परेको छ । उता ओलीलाई दुबै पदबाट हटाउने अभियानमा दाहाललाई पार्टी नेता माधव नेपाल, खनाल, नारायणकाजी श्रेष्ठलगायतको समर्थन रहेको छ ।
यता र उता गरिरहने नेता बामदेव गौतम भने पछिल्ला दिनमा ओलीको समर्थनमा देखिनुभएको छ । यद्यपि, पछिल्ला दिन ओलीको कार्यशैलीको लगातार आलोचना गरिरहनुभएका दाहाल र ओलीबीच सहमति खोज्न दोस्रा तहका नेताहरु लागेका छन् ।
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आपत्ति जनाउने दाहाल–नेपाल–खनाललगायतका बहुमत नेताले ओलीलाई दुबै पद त्याग्न दबाब दिइरहे पनि उहाँले भने कुनै हालतमा पद नछाड्ने बरु सकेको गर्न चुनौती दिइरहनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्