
काठमाडौं, साउन २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने प्रष्टीकरण दिनुभएको छ ।
मंगलबार विहान नेकपा अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा गौतमले आफू सानो ठूलो कुनै पनि गुटमा नलाग्ने बताउनुभएको हो ।
गौतम निवासमा पुग्नुभएका दाहालले सोधेको प्रश्नमा उहाँले कुनै गुटमा पनि नलाग्ने जवाफ दिनुभएको उहाँका सहयोगी विश्वमणि सुवेदीले सामाजिक सञ्जालमार्फत् जानकारी दिनुभएको छ ।
सुवेदीले आफ्नो फेसबुकमा लेख्नुभएको छ, ‘क. प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी सोध्नुभयो । उपाध्यक्ष क. वामदेव गौतमले ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष क. प्रचण्डलाई बिदा गर्नुभयो ।’
गौतमले आफू पार्टी एकताप्रति दृढ रहेको भन्दै कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नरहेको पनि दाहाललाई जवाफ दिनुभएको थियो ।
पार्टीमा समाधान खोज्न भन्दै साउन १३ गते गौतमले प्रधानमन्त्री केपी ओलीको समर्थनमा देखिने जस्तो ६ बुँदे प्रस्ताव ल्याएपछि दाहाल गौतमसँग सशंकित हुनुभएको छ ।
यो पनि,
आफ्नो समर्थनमा ६ बुँदे प्रस्ताव ल्याएपछि प्रधानमन्त्री ओली भने गौतम निवास भैसेपाटी पुगेर रात्रि खाना नै खाएर फर्कनु भएको थियो ।
नेता गौतम आफ्नुकूल गूट परिवर्तन गरिरहनु हुन्छ । कहिले दाहाल–माधव नेपाल समूहको निकट त कहिले ओलीको निकट रहेर उहाँले आफ्ना अभिव्यक्ति दिने गरेकाले दुबै पक्षले प्रयोग मात्र गर्ने गरेको चर्चा पनि नेकपामा हुने गर्दछ ।
यस्तो छ, सुवेदीले दिएको स्पष्टीकरणः
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क.पुष्पकमल दाहाल (प्रचण्ड) ले साउन २० गते मंगलबार विहान पार्टी उपाध्यक्ष तथा संगठन विभागका प्रमुख क.वामदेव गौतमसँग गर्नुभएको भेटका सन्दर्भमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।
उक्त भेटमा अध्यक्ष क. प्रचण्डले उपाध्यक्ष क. गौतमसँग पार्टीसँग सम्बन्धित केही समसामयिक विषयमा संक्षिप्त कुराकानी गर्नुभएको हो ।
उक्त भेटका सन्दर्भमा विभिन्न किसिमका चर्चा, परिचर्चा गरिए पनि वास्तविकता निम्नानुसार मात्र भएको स्पष्ट पारिन्छ ।
स्मरणीय छ कि,साउन १३ गते उपाध्यक्ष क.वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि दुबै अध्यक्षसमक्ष राख्नुभएको प्रस्तावउपर सोही दिन पार्टीका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री क.केपी शर्मा ओलीले आफ्नो समर्थन रहेको स्पष्ट पारिसक्नुभएको थियो ।
२० गते पार्टीका अर्का अध्यक्ष क.प्रचण्ड उपाध्यक्षलाई भेट्न जानुहुँदा
उपाध्यक्ष क.वामदेवले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पार्नुभयो ।
क. प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी सोध्नुभयो ।
उपाध्यक्ष क.वामदेव गौतमले ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष क.प्रचण्डलाई बिदा गर्नुभयो ।विश्वमणि सुवेदी
उपाध्यक्ष क.वामदेव गौतमको सहयोगी
प्रतिक्रिया दिनुहोस्