
काठमाडौं, साउन २१ । नेपाल राष्ट्र बैंकले कोरोना (कोभिड–१९) ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा लकडाउन (बन्दाबन्दी)पश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।
राष्ट्रिय आर्थिक गणनामा समेटिएका १८ उद्योग/व्यवसायमध्ये वित्तीय तथा बीमासम्बन्धी क्रियाकलाप बाहेककालाई १३ क्षेत्रमा एकत्रित गरी सर्वेक्षणमा समावेश गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
गत जेठ २६ देखि असार १० गतेसम्म गरिएको सर्वेक्षणमा ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीको सहभागिता थियो ।
केन्द्रीय बैंकको अनुसन्धान विभागले गरेको सो सर्वेक्षणमा प्रदेश १ बाट सर्वाधिक २७.९, बाग्मती प्रदेशबाट २३.३, प्रदेश ५ बाट २०, गण्डकी प्रदेशबाट १२.८, सुदूरपश्चिम प्रदेशबाट ७.७, प्रदेश २ बाट ७.१ र कर्णाली प्रदेशबाट १.२ प्रतिशत नमूना सङ्कलन गरिएको थियो ।
सर्वेक्षणमा बन्दाबन्दी अवधिमा विभिन्न क्षेत्रका उद्योग/व्यवसायको उत्पादन/कारोबारमा आएको कमी, रोजगारी कटौती, बन्दाबन्दीपछिको योजनालगायत विषयसँग सम्बन्धित तथ्याङ्क समावेश गरिएको छ ।
बन्दाबन्दी अवधिमा सर्वेक्षणमा संलग्न ३९ प्रतिशत उद्योग/व्यवसाय पूर्ण वा आंशिक रुपमा सञ्चालनमा रहेका र ६१ प्रतिशत उद्योग/व्यवसाय पूर्णरुपमा बन्द रहेको पाइएको छ ।
सर्वेक्षणमा संलग्न उद्योग/व्यवसायले झण्डै एक चौथाइ कर्मचारी/कामदार कटौती गर्नुका साथै सोही अवधिमा औसतमा १८.२ प्रतिशतले तलब कटौती गरेको पाइएको छ ।
बन्दाबन्दीको अवधिमा ९६.७ प्रतिशत उद्योग/व्यवसायको उत्पादन ७३.८० प्रतिशतले घटेको छ ।
सर्वेक्षणमा सहभागी उद्योगी/व्यवसायीले व्याजदरमा सहुलियत, लचिलो किस्ता (ब्याज र साँवा) भुक्तानी सुविधा, आयकरमा सहुलियत, चालु पूँजीका निम्ति थप ऋण सुविधा र ऋणको भाका सार्ने सुविधा माग गरेका प्रतिवेदनमा समेटिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्