१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाहाल–नेपालमाथि प्रधानमन्त्रीका सल्लाहकारको निशाना, पार्टी विभाजनदेखि राष्ट्रपति–प्रधानमन्त्रीसम्म हटाउन खोजेको आरोप


0
Shares

prachanda madhab kp oli surya thapa NCP

काठमाडौं, साउन २२ । सत्ता संघर्षको चरमोत्कर्षमा रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पार्टीभित्रको असन्तथुष्टी छताछुल्ल हुनेक्रम रोकिएको छैन ।

मुलुक कोरोनाको महामारी, बाढी–पहिरो, स्वास्थोपचारको अभाव, चरम महँगी जस्ता अनेकन समस्यासँग जुधिरहेका बेला सत्तारुढ दलका नेताहरु भने कुर्सीको झगडामा ६ महिनाभन्दा लामो समयदेखि अल्झिरहेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीमाथि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतले अक्षमताको पगरी भिराउँदै पद त्याग्न दबाब दिइरहेका बेला ओलीको पक्षबाट पनि प्रहार भइरहेका छन् ।

यसैक्रममा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दाहाल–नेपाल पक्ष राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म हटाउने खेलमा लागेका आरोप लगाउनुभएको छ ।

ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट हटाउन जुटेका दाहाल–नेपाल पक्षको कुनै नीतिगत र वैचारिक आधार नभएको र यो नितान्त पदीय स्वार्थका लागि चलखेल भइरहेको आरोप थापाले सार्वजनिक रुपमै लगाउनुभएको हो ।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् थापाले दाहाल–नेपाल पक्षबीच के कसरी पदीय भागबण्डासमेत भैसकेको छ भन्ने खुलाउनुभएको छ ।

झलनाथ खनाललाई राष्ट्रपति, पुष्पकमल दाहाललाई प्रधानमन्त्री, माधव नेपाललाई पार्टी अध्यक्ष तथा नारायणकाजी श्रेष्ठलाई उपप्रधान एवं परराष्ट्रमन्त्री बनाउनका लागि ‘खुमलटार गठबन्धनको रिहर्सल’ भएको थापाको दाबी छ ।

त्यति मात्र होइन थापाले दश वर्षअघि तत्कालीन माओवादीभित्र साउनकै महिनामा ‘धोबीघाट गठबन्धन’ ले दाहाललाई कू गरी अरु नेताले पद लिन प्रयास थाल्दा त्यसको परिणाम माओवादी पार्टी कसरी चकनाचूर भएर सकियो भन्ने चेतावनी पनि थापाले दिनुभएको छ ।

थापाले लेख्नुभएको छ, ‘१० वर्षअघि साउनको यही बेला धोबीघाट गठबन्धनको चलखेल भयो । संसदीय दलको नेता बाबुराम भट्टराई, जनसेना ईन्चार्ज रामबहादुर थापा बादल, संगठन विभाग प्रमुख मोहन वैद्य किरण र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बनाउने अपेक्षासहित ।’

थापा थप्नुहुन्छ, ‘पार्टी अध्यक्ष तथा संसदीय दलको नेताबाट पुष्पकमल दाहाल प्रचण्डलाई अपदस्थ गर्न केन्द्रीय कमिटीमा हस्ताक्षर संकलन भयो । बाबुराम, वैद्य, बादल, नारायणकाजी र विप्लवको मोर्चाबन्दी चल्यो । परिणामस्वरुप माओवादी धार एक दर्जन समूहमा विभाजन र विघटन भयो ।’

१० वर्षपछि सोही समयमा फेरि चलखेल गरिएको भन्दै थापा लेख्नुहुन्छ, ‘प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरूद्ध दाहाल, खनाल, नेपाल र नारायणकाजी श्रेष्ठको मोर्चाबन्दी छ । यो पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्धति र एकताको लडाईँ हो त ? पार्टी विभाजनको खुल्लमखुला हाँक, होहल्ला र रिहर्सल गर्दा यसबाट एकतालाई कहाँनेर सहयोग पुग्यो ?’

नेकपा विभाजन र समाप्त पार्ने कसरत भइरहेको भन्दै थापाले प्रश्न गर्नुभएको छ, ‘देशीविदेशी षडयन्त्र र चलखेल जारी छ भन्नेतर्फ सचेत भएको खोई ?’