
जनकपुर, साउन २३ । चिकित्सक तथा रेडक्रस सोसाइटीको लापरवाहीका कारण जनकपुरमा शुक्रबार एक सुत्केरीको मृत्यु भएको छ ।
महोत्तरी गौशाला नगरपालिकाकी २२ वर्षीया गंगादेवी महतोको जनकपुरधाम उपमहानगरपालिका– ६ स्थित रामजानकी अस्पतालमा उपचारका क्रममा गलत रगत दिंदा मृत्यु भएको हो ।
प्रसुति गराउन आएकी गंगादेवीको शल्यक्रियाबाट बिहीबार छोरी जन्मेपछि उनलाई रगत आवश्यक परेको थियो ।
रगत दिँदा गलत समूहको रगत परेकाले उनको मृत्यु भएको बताइएको छ ।
गंगादेवीको रक्तसमूह ओ पोजेटिभ भएको तर अस्पतालले बी पोजेटिभ रगत दिएकाले मृत्यु भएको आफन्तको भनाइ छ ।
रक्तसंचार केन्द्रले ओ पोजेटिभ रगत पठाउनु पर्नेमा बी पोजेटिभ रगत पठाएको र चिकित्सकले पनि जाँच नगरी रगत चढाउँदा गंगादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान गर्न अस्पतालका तीन चिकित्सक तथा रक्तसंचार केन्द्रका कर्मचारीलाई नियन्त्रणमा लिइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्