
काठमाडौं, साउन २३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताउनुभएको छ ।
पशुपति क्षेत्र विकास कोषको आधिकारीक वेबसाइट, मोबाइल एप सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक लेनदेन र गलत क्रियाकलापमा लाग्ने कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताउनुभएको हो ।
उहाँले आर्थिक लेनदेनलाई प्रशय दिएकै कारण पशुपति क्षेत्र भित्र बाटोबाटोमा पसल राख्ने, पार्किङ जथाभावि गर्ने क्रियाकलाप बढेको टिप्पणी गर्नुभयो ।
उहाँले स्वर्ग जाने बाटोमा बसेर आर्थिक लेनदेन र चलखेलहरु गरी नर्कजाने काम नगर्न समेत आग्रह गर्नुभयो ।
यहाँ पदाधिकारी र कर्मचारी हुन आउने भनेको धर्म गर्न आउने हो भन्दै मन्त्री भट्टराइले यस्तो ठाउँमा आर्थिक लेनदेन र चलखेल सरकारलाई स्वीकार्य नहुने प्रस्ट पार्नुभयो ।
पशुपति क्षेत्रको व्यवस्थापन र विकासका लागि सरकारले गुरुयोजना प्रस्ताव गरेपछि केही स्थानीय र राजनीतिक व्यक्ति लगायतले विरोध गरिरहेको उल्लेख गर्दै सरकारले बिना विकल्प बासस्थानबाट बेदखल नगर्ने स्पस्ट पार्नुभयो ।
तर कुनै राजनीतिक उद्देश्य, गलत मनसाय र आर्थिक लेनदेनका कारण सांस्कृतिक सम्पदाहरुको अुनचित ढंगले अतिक्रमण गर्न नपाउने बताउनुभयो ।
मन्त्री भट्टराईले पशुपति क्षेत्रभित्र योजना र मापदण्ड बिना बनाइएका संरचनाहरुलाई हटाउने समेत बताउनुभयो ।
कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रको संरक्षण र विकासका लागि गुरुयोजना प्रस्ताव गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्