२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


काठमाडौंमा अहिलेसम्मकै सर्वाधिक १ सय ६ जनामा कोरोना संक्रमण, २४ घण्टामा ५ जनाको मृत्यु


13
Shares

kathmandu valley corona

काठमाडौं, साउन २३ । कोरोना भाइरसले नेपालमा आफ्नो आयतन फैलाउँदै लगेको छ । राजधानी काठमाडौं उपत्यकामा पनि उसले आफ्नो पञ्जा राम्रैसँग फैलाउँदै लगेको छ ।

काठमाडौंमा कोरोना संक्रमण भएयताकै सर्वाधिक संख्या शुक्रबार देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा संक्रमितको संख्या १०६ पुगेको हो ।

देशभर कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । २४ घण्टाको अवधिका देशभरमा ५ जनाले कोरोना भाइरसको संक्रमणकै कारण ज्यान गुमाउनु परेको छ ।

शुक्रबारको तथ्यांकसहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

थपिएका मृतकमा पर्साका ३ तथा सिराहा र सर्लाहीका एक एक जना रहेका छन् । पर्साका ४५, ५७ र ७९ वर्षीय तथा सिराहाका २५ र सर्लाहीका ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २२ हजार २ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ६४ जना नयाँ संक्रमित थपिएका हुन् ।

सक्रिय संक्रमित ६ हजार ३ सय ३० जना मध्ये ३ जना भेन्टिलेटरमा छन् भने १० हजार २ सय ७ जना क्वारेन्टिनमा छन् ।

१५ हजार ८ सय १४ जना व्यक्ति कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।