
राजन कुईंकेल ।
आजभन्दा ठीक तीन वर्ष अगाडी यही समयतिर नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति धेरैको नजर सोझिएको थियो । संविधानसभाबाट घोषित संविधान–२०७२ ले निर्दिष्ट गरेका प्रबन्धहरु लागु गराउने (संघीयता कार्यान्वयन) सहितको गुरुत्तर दायित्व बोकेको पहिलो आमनिर्वाचन करिब एक सय दिनपछि हुँदै थियो । चुनावी सरकारको नेतृत्व गरिरहेका थिए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।
जुन पार्टीका अर्का प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा देशी विदेशी अनेकन बिघ्न बाधाका बीच २०७२ सालमा मुलुकले संविधानसभाबाट नयाँ संविधान पाएको थियो । दूर्भाग्य, तिनै नेताका उत्तराधिकारी देउवा पार्टी हार्ने चुनावको कमाण्डरी गरिरहेका थिए । तर चर्चामा थिए, एमाले अध्यक्ष ओली । यसका पछाडी दुई कारण थिए ।
पहिलो, संविधान घोषणा गर्दाताका भारतले लगाएको नाकाबन्दीमा ओलीले लिएको स्पष्ट अडान । जसका कारण ओलीसहितका एमाले नेताहरुले बिगतमा गरेका राष्ट्रिय स्वार्थ विपरितका अनेकन निर्णयलाई पनि जनताले माफी दिएका थिए । उनीप्रति आशाको नजर थियो । कांग्रेस नेतृत्वको सरकारमा रहेको माओवादीलाई आफू मातहतको वाम गठबन्धनमा सामेल गराउन उनी सफल भएका थिए । आफ्नै दलका नेताहरुले पाउने सीट कटाएर माओवादी नेताहरुलाई दिन उनी राजी भएका थिए । देशभर एमाले–माओवादी गठबन्धन जीतको सन्देशसहित निर्वाचनमा होमिएको थियो । ओली दुई कम्युनिष्ट पार्टीको हँसिया हथौडा अंकित साझा झण्डा बोकेर विजयी यात्रामा लम्किरहेका थिए ।
उता मतदाता एउटै सपना देखिरहेका थिए, तिनका रुमानी कल्पनालाई यथार्थका परिणत गराउने एक मात्र नायक ओली हुन् र उनले मात्र त्यो साकार तुल्याउन सक्छन् । मतदाता चिनियाँ चुच्चे रेलमा चढेर काठमाडौं–रसुवागढी–केरुङ हुँदै बेइजिङको यात्रा गरिरहेका हुन्थे । भारतीय हाइस्पिड रेलमा चढेर काठमाडौं–रक्सौल–कन्याकुमारी पुगेर सुसेल्दै फर्किरहेका देखिन्थे । व्यापारीहरु समुन्द्रभरी फैलिएको चन्द्र–सूर्य अंकित नेपाली ध्वजावाहक पानीजहाजमा मेड ईन नेपाली लेखिएका सामान विश्वभर निर्यात गरिरहेका थिए भने देशका लागि अपुग केही सामग्री नारायणी नदीस्थित बन्दरगाहमा झारिरहेका थिए ।
दोस्रो, ओली २०७२ सालमा पहिलो पटक प्रधानमन्त्री भएयता लगातार विकास र निर्माणको मुद्दा उछालिरहेका थिए । निर्वाचनका बेला त उनले बाँडेको विकासे सपनामा मतदाताहरु निर्धक्क सुत्न थालिसकेका थिए । अर्थात् समृद्ध मुलुकको नागरिक बन्ने आम जनताको रुमानी सपना आफ्नो निर्वाचन रथको अग्रभागमा सजाएर ओली देश दौडाहामा होमिएका थिए ।
जहाँ सत्तामा रहेर निर्वाचन गराइरहेको कांग्रेस नेतृत्व ‘मरेको बिरालो बोकेर ठिमीको उकालो उक्ले’ झै प्रतीत हुन्थ्यो । सत्ता सिवाय नाकै अगाडीको दृष्यसम्म नदेख्ने कांग्रेस नेतृत्व प्रधानन्यायाधीश महाभियोग, प्रहरी महानिरीक्षक नियुक्ति, राजदूत नियुक्ति, विफल चुनावी साँठगाँठ जस्ता अनेकन प्रकरणले घेरिएको थियो ।
उता मतदाता एउटै सपना देखिरहेका थिए, तिनका रुमानी कल्पनालाई यथार्थमा परिणत गराउने एक मात्र नायक ओली हुन् र उनले मात्र त्यो साकार तुल्याउन सक्छन् । मतदाता चिनियाँ चुच्चे रेलमा चढेर काठमाडौं–रसुवागढी–केरुङ हुँदै बेइजिङको यात्रा गरिरहेका हुन्थे । भारतीय हाइस्पिड रेलमा चढेर काठमाडौं–रक्सौल–कन्याकुमारी पुगेर सुसेल्दै फर्किरहेका देखिन्थे । व्यापारीहरु समुन्द्रभरी फैलिएको चन्द्र–सूर्य अंकित नेपाली ध्वजावाहक पानीजहाजमा मेड ईन नेपाल लेखिएका सामान विश्वभर निर्यात गरिरहेका थिए भने देशका लागि अपुग केही सामग्री नारायणी नदीस्थित बन्दरगाहमा झारिरहेका थिए ।
समाजवाद हुँदै साम्यवादको स्वैर कल्पित संसारमा पुग्ने रुमानी कल्पना बेचिएका घोषणा पत्रका लिपीभन्दा निकै अगाडी बढेको सामाजिक सुरक्षाका कार्यक्रमहरुले समाजमा गरीब र धनीबीचको अन्तर झिनो मात्र पनि थिएन । आसेपासे पुँजिवाद (क्रोनी क्याप्ट्लिज्म) को त कुरै नगरौं, पुँजिवादका अवशेषहरु नै देखिन्नथे । मुलुकभर उत्पादकत्व यसरी बढिरहेको थियो कि, विदेशीहरु नेपाली सामान लिनका लागि महिनौं कुर्न विवश थिए ।
डाँडाकाँडा क्षमतानुसारको उत्पादन दिइरहेको थियो । हिमालका जडिबुटीबाट औषधि बनाउने लाइसेन्सकै लागि बहुराष्ट्रिय कम्पनीहरु झुम्मिएका थिए । कोरोना जस्ता महाब्याधीको औषधि नेपालका जडिबुटीबाट बनेर विश्वभर निर्यात भइरहेका थिए । हिमाली भेगमा स्थापित सञ्जीवनी स्वास्थालयहरुमा उपचार गराएर मृत्युको मुखबाट फर्कन चाहनेहरु स्वास्थ्य भिषा पाउन विश्वभर छरिएका नेपाली दूतावासहरुमा याचना गरिरहेका थिए ।
विदेशमा बेचिएका युवाहरु देश बनाउन फर्किएका मात्र थिएनन्, समाजवादी अर्थव्यवस्थाको हिस्सा बन्न पाएकामा गर्वित थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देश, राजनीतिक पद्धति र गरीबीलाई धिक्कार्दै विदेशिनका लागि लर्को लाग्नेहरु होइनन्, नेपालमा पसिना बगाउन अनुनय विनय गर्ने विदेशीहरुको भीडले भरिएको थियो । नेताका वरिपरी बसेर मुलुकको अर्बौअर्बको ठेक्का हत्याउने, कर्मचारीको मिलिभगतमा राज्यको स्रोतमाथि तर मार्ने, न्यायालयसहित राज्यका सबैजसो निकायमा बिगबिगी छरिएर दुराचार गर्ने भ्रष्ट बिचौलियाहरुले जेल भरिएका थिए ।
हत्या, बलात्कार, यातना, छुवाछुत, जातीय विभेद, असमानता, अशिक्षा, कुपोषण, बेरोजगारी शब्दकोषमा मात्र सीमित भएका थिए । जनता शदीयौंपछि आफ्नो सपना साकार भएर न्याय र शान्तिको श्वास निर्धक्क फेरिरहेका थिए । भारतमा रहेका हिन्दू धर्मका भगवानहरु त्यहाँ बस्न नसकेर रातारात नेपाली सीमा छिरिरहेका, राम त सीमावर्ती माडीमा बस्न प्रधानमन्त्री ओलीसँग याचनै गरिरहेका देखिन्थे । यस्तो दृष्य देखेर संसारका अरु धर्मका भगवानहरु पनि नेपाल आउनका लागि खुशामदमा लागिरहेका थिए ।
राजनीतिक दलभित्र यस्तो प्रजातान्त्रिक अभ्यास र आचरण थियो कि, बेलायत, अमेरिका, नर्वे, चीन, जापानजस्ता मुलुकबाट नेताहरु दीक्षित हुन आइरहेका थिए । नेताहरुबीचको सम्बन्ध त अतुल्य नै थियो । युवा जोश, जाँगर, योजना, दूरदृष्टि, कल्पनाशील नेतृत्वले दलहरु युक्त थिए । तिनका बैठकहरुमा जनताका सानाभन्दा साना समस्यामाथि घनिभूत बहस हुन्थ्यो । सारा सरकारी र गैरसरकारी निकायमा राजनीतिको लेस मात्र पनि गन्ध थिएन । नियुक्तिहरुको मापदण्ड नेताको गोजी र भाउजुको निगाहले होइन, मेरिटले निर्धारण गर्दथ्यो । सुशासनको पाठ सिक्न विश्वका प्रशासन क्षेत्रका दिग्गजहरु काठमाडौं ओइरिरहेका थिए ।
श्वैर कल्पनाको यस्तो च्यादर च्यातिएर अढाई वर्षपछि ब्युँझदा त उसका अघिल्तिर त्यो पुरानो नेपाल थिएन । उसका ती सबै सपना चकनाचूर भइरहेका थिए । अकस्मात् पश्चिम दिशाबाट आएको आँधीले उडाएको खरानीको घरझै भएको थियो उसको विश्वास । अढाई वर्ष अगाडीको आशा र विश्वासको त्यो दर्पण चूर्ण चूर्ण भएर आफ्नै शरीरका अंगहरु रेट्दै थियो ।
केन्द्रीय राजधानी सिंहदरबारदेखि स्थानीय सरकारसम्म फैलिएको भ्रष्टाचार, बेथिती, दुराचार, अन्याय, अत्याचार, अराजकता अनियन्त्रित थियो । समाजवादहुँदै साम्यवादसम्म पुग्ने डुंगामा त तिनै भ्रष्ट, बिचौलिया, माफिया, दलाल, ठेकेदार, टोले गुण्डा पो छन् । अनि तिनैहरुबाट घेरिएर बीचमा गजधुम्म बसेका छन् यो देशका प्रधानमन्त्री केपी ओली । जसको रुमानी भाषण सुनेर अढाई वर्ष अगाडी फाटेको टोपीबाट टुपी निस्केका, टालेको भोटो र सुरुवालले लाज छोपेका, गरीबीको चक्र टाल्न नसकेर फाटेको चोलीबाट निस्केको लाज हत्केलाले छोप्दै, सिटामोल नपाएरै मृत्यु कुर्दाकुर्दै पनि नाती पुस्ताको भविष्यका लागि तिनै वृद्ध बाआमाले निशंक मत दिएका थिए ।
उनका योजनाहरुमा सुन्दर भविष्य देखेर शहरबाट गाउँ फर्किएको युवा आफ्नो बाबुआमा, साथिभाई, दौतरी मात्र होइन छरछिमेकलाई समेत सम्झाएर मत दिन आह्वान गर्दै थियो । नमान्नेहरुलाई एक पटक मेरै विश्वासका लागि भन्दै भोट माग्दै थियो ।
दूर्भाग्य ओली सत्ताको तीन वर्ष पुग्न पाउँदा नपाउँदै उनी चौतर्फी रुपमा आसेपासे पुँजिवादको घेरो फैलाइरहेका मात्र छैनन्, ती करोडौं विश्वासमाथि एकै पटक वज्र प्रहार गर्दैछन् । बिचौलियाको बुईं चढेका ओली अझै भन्दैछन्, मै पुर्याउँछु तिमीहरुलाई समाजवादको संसारमा !

twitter: @kuikelrajan
प्रतिक्रिया दिनुहोस्