१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भगवान बुद्धको जन्मभूमि बहसको विषय होइनः परराष्ट्र मन्त्रालय


0
Shares

Foreign ministry nepal

काठमाडौं, साउन २५ । सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस र विवाद नै नरहेकोमा प्रष्ट पारेको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धलाई महान् भारतीय नागरिक भनेपछि औपचारिक प्रतिक्रिया दिँदै परराष्ट्र मन्त्रालयले बुद्धको जन्मभूमि बहसको विषय नै नभएको जनाएको हो ।

सञ्चारकर्मीको प्रश्नमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले, ‘यो ऐतिहासिक र पुरातात्विक प्रमाणहरुद्वारा पूर्णरुपमा स्थापित र अकाट्य तथ्य हो कि भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मनुभएको थियो । बुद्धको जन्मस्थल तथा बुद्धधर्मको प्रादुर्भाव लुम्बिनी युनेस्कोको विश्व सम्पदास्थलमा समेत रहेको छ’ भन्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाललाई बुद्धको जन्मस्थलका रुपमा स्वीकारेको भन्दै उहाँले उल्लेख गर्नुभएको छ, ‘सन् २०१४ को नेपाल भ्रमणका क्रममा नेपालको संसदलाई सम्वोधन गर्दै उहाँले नेपालमा शान्तिदूत बुद्ध जन्मेको बताउनुभएको थियो ।’

नेपालबाट विश्व विभिन्न भागमा बुद्ध धर्म फैलिएको दाबी पनि उहाँले गर्नुभएको छ । यस तथ्यमा कुनै आशंका वा विवाद नभएको भन्दै यसलाई बहसको विषय बनाउन नसकिने नेपाल सरकारले प्रष्ट पारेका हो ।

परराष्ट्र मन्त्रालयले भनेको छ, ‘सिंगो विश्व समुदाय यो विषयमा जानकार छ ।’

यसअघि भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान् गौतम बुद्धलाई महान् भारतीयको संज्ञा दिएका थिए ।

कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजको कार्यक्रममा विदेशमन्त्री जयशंकरले संसारले सम्झिने दुई महान् भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको उल्लेख गरेका थिए ।

जसको नेपालमा तीब्र रुपमा विरोध थालिएको छ । सरकारको प्रतिक्रिया आउनुअघि नै विपक्षी नेपाली कांग्रेसले तथ्यहीन विषयमा भ्रम नफैलाउन भारतको ध्यानाकर्षण गराइसकेको थियो ।