
एजेन्सी, साउन २६ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मुखर्जी आफैले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिनुभएको हो ।
अरू नै समस्याले जचाउन अस्पताल गएका बेला कोरोना पनि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनुभएको हो ।
पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न पनि मुखर्जीले आग्रह गर्नुभएको छ ।
यसैबीच, कोरोना भाइरसको महामारी शुरु भएयता भारतमा पहिलो पटक एकैदिन एक हजारभन्दा बढी व्यक्तिको कोरोनाबाट मृत्यु भएको छ ।
त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ७ जना मानिसको मृत्यु कोरोनाका कारण भएको जनाएको हो । सोही अवधिमा ६२ हजार ६४ जनालाई संक्रमण भएको छ ।
भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ४४ हजार ३ सय ८६ जनाको मृत्यु भएको छ भने २२ लाख १५ हजारभन्दा बढीलाई संक्रमण भएको छ ।
अहिलेसम्म २ करोड ४५ लाख ८३ हजार ५ सय ५८ जनाको कोरोना परीक्षण गरिएको पनि जनाइएको छ ।
आइतबार ४ लाख ७७ हजारको नमुना परीक्षण गरेको भारतले अगस्टको अन्तिमसम्म परीक्षण दर प्रतिदिन १० लाख पु¥याउने लक्ष्य लिएको छ ।
विश्वमा कोरोनाबाट अमेरिका र ब्राजिलपछि सबैभन्दा संक्रमित हुने मुलुक भारत हो ।
विश्वमा हालसम्म २ करोडभन्दा बढी व्यक्तिमा कोरोनाको संक्रमण हुँदा ज्यान गुमाउनेको संख्या ७ लाख ३० हजार नाघेको छ ।
प्रतिक्रिया दिनुहोस्