
काठमाडौं, साउन २८ । कोरोना (कोभिड १९) संक्रमणको जोखिम न्युनिकरण लागि लकडाउन भएपछि विज्ञापन बजारमा ८० प्रतिशतसम्म कमि आएको नेपाल विज्ञापन संघ (आन) ले जनाएकोे छ ।
लकडाउन अवधिमा रेडियो र टेलिभिजनमा खासै असर नपरेपनि पत्रपत्रिकामा सबैभन्दा बढी असर परेको आनले जनाएको छ ।
आनका अध्यक्ष रवीन्द्रकुमार रिजालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि टेलिभिजन, रेडियो तथा पत्रपत्रिकाको विज्ञापन बजारमा ८० प्रतिशत सम्म गिरावट आएको बताउनुभयो ।
तर पछिल्लो समय लकडाउन खोलिएपछि भने विज्ञापन बजारमा ५० प्रतिशत सुधार आएको उहाँले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७५÷०७६ मा करिब १२ अर्ब बराबरको व्यापार विज्ञापन बजारले गरेको थियो ।
त्यसमध्ये ५ अर्बको कारोबार होडिङ बोर्ड र भित्ते लेखनमा भएको थियो भने बाँकी ७ अर्ब बराबरको कारोबार सञ्चार माध्यम मार्फत भएको थियो ।
तर गत आर्थिक वर्षमा सञ्चार माध्यममा ५ अर्ब बढीले व्यापार घटेर २ अर्बमा सिमित भएका संघले जनाएको छ ।
चालु आर्थिक वर्षमा ८ अर्बको विज्ञापन बजार निर्माण हुने अपेक्षा गरिएको तर यहि अवस्था रहेमा औषतमा ५० प्रतिशत कारोबार हुन सक्ने र यसमध्ये सञ्चार माध्यमले ४० प्रतिशत भन्दा बढी रकम कन्टेन्टका लागि खर्च गर्ने भएकाले बाँच्न गाह्रो हुने अध्यक्ष्य रिजालको भनाई छ ।
त्यसैले सरकारले विज्ञापन बजारको वातावारण निर्माण गर्न विशेष पहल गर्नुपर्ने नेपाल विज्ञापन संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्