
काठमाडौं, साउन २९ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले आठ दिनपछि आफूहरुबीचको संवादहीनता तोड्नुभएको छ ।
ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा गर्नुपर्ने अडानमा दाहाल उभिएपछि पछिल्लो समय दुई नेताबीच संवाद नै हुन सकेको थिएन ।
प्रधानमन्त्री ओलीको राजीनामाका विषयमा नेकपाभित्र पछिल्लो ६ महिनायता अन्तरद्वन्द्व चर्किँदा सरकारको काम प्रभावहीन भएको छ भने पार्टी कुनै पनि दिन फुट्न सक्ने अवस्थामा पुगेको छ ।
तर आज भने प्रधानमन्त्री ओलीसँग कुरा गर्नका लागि दाहाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जानुभएको हो ।
छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी हुनुभएको बालुवाटार स्रोतले जनाएको छ ।
यसअघि बुधबार मात्र प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद पाँच दिनभित्र सुल्झिने दाबी गर्नुभएको थियो ।
ओली र दाहालबीच साउन २० मा बालुवाटारमा छलफल भएयता कुनै संवाद हुन सकेको छैन । तर दोस्रा तहका नेता भने संवाद खुलाउने प्रयासमा लागिरहेका थिए ।
नेकपामा ओलीको कार्यशैली र आचरणका कारण पार्टी र सरकारको साख गिरेको भन्दै दाहाल–माधव नेपालसहितका नेताहरु ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने पक्षमा उभिँदा ओलीले कुनै हालतमा पद नत्याग्ने अडान राख्नुभएको छ ।
उहाँले बहुमतले कार्वाही गरेर देखाउन चुनौती दिइरहनु भएको छ । ओलीमाथि निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराएको अरोपसमेत दाहाल–नेपाल पक्षले लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्