१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संघीय संसदका पदाधिकारीलाई नयाँ नक्सा अंकित लोगो हस्तान्तरण


0
Shares

काठमाडौं, साउन ३२ । संघीय संसदका पदाधिकारीहरुलाई नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतिक चिन्ह (लोगो) हस्तान्तरण गरिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्ष सिंहदरवारमा आइतबार संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाललाई लोगो हस्तान्तरण गर्नुभएको हो ।

पदाधिकारीहरुले आजैदेखि नयाँ लोगो प्रयोग गर्नुभएको छ । संघीय संसदका सदस्यहरुलाई पनि नयाँ नक्सा अंकित लोगो आजैदेखि उपलब्ध गराईने सचिवालयले जनाएको छ ।

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३ दशमलब ५ सेन्टिमिटर व्यास रहेको छ ।

नयाँ लोगो बाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो ।

प्रति लोगो ५ हजार ५ सय २७ रुपैँया खर्च लागेको महासचिव डा. गौतमले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको गत जेठ ११ गते बसेको बैठकले संघीय संसदका सदस्यहरुले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको थियो ।