
काठमाडौं, साउन ३२ । समरी जनरल सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूरमा एक सहायकरथीसहित तीन सैनिक अधिकारीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आइतबर बसेको उक्त अदालतले सहायकरथी प्रयोगजङ राणा, महासेनानी नवीन सिल्वाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने फैसला गरेको हो ।
पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रमा रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठह¥याउँदै अदालतले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।
सहायकरथी राणाले एक करोड ५२ लाख २७ हजार तथा महासेनानी सिलवालले १५ लाख ७९ हजार रकम हिनामिना गरेको ठहर गर्दै अदालतले बिगो बराबरको रकम निजहरुबाट असुल उपर गर्ने निर्णय गरेको छ ।
उक्त अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गर्ने तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत दिने निर्णय पनि सुनाएको छ ।
अभियोगमा अनुसन्धानको दायरामा रहेका महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई भने अदालतले सफाइ दिने गरी फैसला गरेको छ ।
प्रतिक्रिया दिनुहोस्