२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


संवैधानिक निकायको नियुक्तिका बारेमा प्रधानमन्त्री ओली र देउवाबीच छलफल


0
Shares

kp oli sherbahadur deuba NCP congress constitutional council meeting appointment

काठमाडौं, भदौं १ । प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संवैधानिक परिषद्को बैठक राख्नेबारेमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा परिषदको बैठक राखेर संवैधानिक निकायका रिक्त पदहरुमा नियुक्ति गर्ने सम्बन्धमा प्रधानमन्त्री ओलीले सभापति देउवासँग छलफल गर्नुभएको हो ।

सभापति देउवासँगै बालुवाटार जानुभएको कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् बैठक राख्नेबारे छलफल गर्न देउवालाई बालुवाटार बोलाएको जानकारी दिनुभयो ।

त्यसक्रममा सभापति देउवाले कोरोनाको रोकथाम र नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको, सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा गएको बाढी पहिरो पीडितका समस्याबारे प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक अंगका विभिन्न पदमा पदपूर्ति हुन सकेको छैन । छलफलमा सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि हुनुहुन्थ्यो ।

यता कांग्रेस केन्द्रीय कार्यालयले भने सभापति देउवासँग प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्तिहरुका बारेमा परामर्श गरेको जानकारी दिँदै भेटघाटका क्रममा पार्टीका तर्फबाट जरुरी महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराइएको जनाएको छ ।

यी हुन् सभापति देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका विषयहरु,

१) सिन्धुपाल्चोकको जुगल गापाको लिदीमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको छ र कैयौं बेपत्ता छन् । गाउँवासीले १० दिन अघिदेखि नै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपु¥याउनु अत्यन्तै दुःखद भएको छ । यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन ?

देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति गरेको छ । सरकारको भूमिका सन्तोषजनक देखिएन । ब्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न आग्रह गर्दछु ।

२) कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको छ, संक्रमण तीव्र गतिमा विस्तार भएको छ । बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार समर्थ देखिएन । कमजोरीको समिक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन ? आइसोलेसन र भेन्टिलेटर पर्याप्त व्यवस्था गर्न किन ढिलाइ ?

३) त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगतिउपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी छ । निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमताभन्दा राजनीतिक पूर्वाग्रह बढी देखियो ।

प्रजातन्त्रवादी प्राध्यापक संघको सभापतिलगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरुको सुनुवाइ नगर्ने, कीर्तिपुरदेखि ठाकुरराम क्याम्पससम्मका विद्यार्थीलाई थुनामा राख्ने अनि विविध माग राखेर २६ दिनदेखि पोखरा विश्वविद्यालयमा अनशनमा बसेका नेविसंघका विद्यार्थीहरुसँग संवादसमेत नगर्ने यस्तो बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो छैन ।