१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


१५ औं योजनामा परिमार्जन गर्नुपर्ने : आयोग


0
Shares

काठमाडौं, भदौ १ । राष्ट्रिय योजना आयोगले कोरोना संक्रमणका कारण अर्थतन्त्रमा प्रभाव परेकाले १५ योजनामा परिमार्जन गर्नुपर्ने अवस्था आएको जनाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लामो समय गरिएको बन्दाबन्दीले अर्थतन्त्रमा गम्भिर असर परेकाले लक्षित आर्थिक वृद्धि पनि हाँसिल हुन नसक्ने भन्दै पन्ध्रौं पञ्चवर्षिय योजनाको लक्ष्य परिमार्जन गर्नुपर्ने बताएको हो ।

आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले कोरोनाका कारण अर्थतन्त्रमा गम्भिर असर परेको र आर्थिक वृद्धि लक्ष्य अनुसार नहुने भएकोले परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

उहाँँले कोरोनाको संक्रमण कम हुन्छ भन्ने हिसाबले चालु आर्थिक वर्षको वार्षिक योजना बनाएपनि दोस्रो चरणको संक्रमणका कारण कार्यान्वयनमा असर परेकाले समस्या देखिएको बताउनुभयो ।

संक्रमणको अवस्थालाई छिट्टै नियन्त्रण गरी नयाँ कार्ययोजना बनाएर अगाडि बढनुपर्ने आवश्यकता रहेकोमा उहाँले जोड दिनुभयो ।

राष्ट्रिय गौरवका आयोजना र रुपान्तरणकारी आयोजना लक्षित समयमा सम्पन्न गर्र्न नसकिने अवस्था आएको पनि आयोगले जनाएको छ ।

दीर्घकालीन सोच र पन्ध्रौं योजनाको लक्ष्य हासिल गर्न सरकारले देशको अर्थतन्त्रमा वृहत प्रभाव पार्ने विशिष्ट प्रकृतिका २५ खर्ब लागतका १८ वटा आयोजनालाई रुपान्तरणकारी आयोजनाका रुपमा अघि सारिएको थियो ।

आयोगले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावका सन्दर्भमा अध्ययन थालेको छ ।