
काठमाडौं, भदौं ४ । कानूमन्त्री डा. शिवमाया तुम्बाहाङफेले मौलिक हकसम्बन्धी ११ वटा नियमावलीको मस्यौदा कार्यान्वयनका लागि सहमति दिएको बताउनुभएको छ ।
आफू मन्त्री नियुक्त भएको ६ महिनाको कार्यप्रगति विवरण प्रस्तुत गर्दै उहाँले अपराध पीडित संरक्षण नियमावली, २०७६ को मस्यौदा महान्यायाधिवक्ता समक्ष प्रतिक्रियाको लागि पठाइएको बताउनुभयो ।
उहाँले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन २०७५ बमोजिम बनाउनु पर्ने नियमावलीको मस्यौदा प्राप्त हुन बाँकी रहेको जानकारी दिनुभयो ।
मन्त्री तुम्बाहाङफेले भूमिकालाई स्पष्ट गर्न तथा सन्धी सम्पन्न गर्ने कार्यविधिमा एकरुपता ल्याउन सन्धी सम्पन्न गर्ने सम्बन्धी निर्देशिका, २०७७ कार्यान्वयनमा आएको बताउनुभयो ।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उहाँले ७ वटा विधेयक तर्जुमा गर्न सहमति दिएको बताउनुभयो ।
मन्त्रालयले १९ वटा विधेयकको मस्यौदामा तर्जुमा, २८ वटा नियमावलीको मस्यौदामा तर्जुमा, ९ वटा गठन आदेशको मस्यौदा तर्जुमाका लागि सहमती दिएको बताइएको छ ।
मन्त्री तुम्बाहाङ्फेले सरकारबाट जारी हुने ३ वटा आदेश, ६ वटा निर्देशिकाको मस्यौदा तर्जुमा , २ वटा कार्यविधिको मस्यौदामा तर्जुमा र १० वटा विधेयकहरु रुजु गरिएको जानकारी दिनुभयो ।
यस्तै ४३ वटा दुई पक्षीय तथा वहुपक्षीय अन्तर्राष्ट्रिय सन्धी सम्झौतामा राय दिनुका साथै , १० वटामा कानूनी राय तथा मन्त्रालयलाई विपक्षी बनाइएका २३ वटा विषयमा जवाफ दिइएको बताउनुभयो ।
मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशनको लागि सम्पादन गरी पठाइएको विषय २ सय ४८ , परस्परिक कानूनी सहायता सम्बन्धी ९, संघीय संसद सचिवालयमा दर्ता गर्न सहमति दिइएका विधेयकहरु २६ र न्याय प्रशासन सञ्चालन तथा नियुक्ति सम्बन्धी ८ वटा विषयमा स्वीकृति दिएको बताइएको छ ।
मन्त्री तुम्बाहाङ्फेका अनुसार मन्त्रालयले प्रदेशले निर्माण गरेका कानूनहरुको विषयमा प्रदेशका कानून मन्त्रीहरुसँग छलफल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्