२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


निषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द्व तथा प्रधानमन्त्रीका हलुका टिप्पणी निषेध गर्न कांग्रेसको माग


0
Shares

काठमाडौं, भदौ ४ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले निषेधाज्ञाको समयमा भ्रष्टाचार, सत्ताद्वन्द्व तथा प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध गर्न माग गरेको गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै संकटको समयमा आफूहरु ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने मान्यताका साथ कोरोना विरुद्धको संघर्षमा संयम, सशक्तता र एकताका लागि सरकार र समुदायमा अपिल गर्नुभएको हो ।

यसअघिको एक सय बीस दिन लामो लकडाउन तथा अहिले जारी निषेधाज्ञा संकट समाधान गर्न पर्‍याप्त नभएको भन्दै उहाँले विगतमा गरिएका कमजोरी र गल्तीहरुबाट पाठ सिकेर युद्धस्तरमा कार्य गर्ने परिस्थिती निषेधाज्ञाको समयमा निर्माण गर्न माग गर्नुभएको छ ।

उहाँले फ्रन्टलाइनमा कार्य गरिरहेका स्वास्थकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी र संचारकर्मीलाई आवश्यक पर्ने भौतिक सामग्री र मनोवैज्ञानिक सहजताका लागि सहजीकरण गर्न पनि सरकारलाई अपील गर्नुभएको छ ।

निषेधाज्ञा लम्बिन सक्ने स्थितिमा श्रमिक, विद्यार्थी, बेरोजगार युवा, एकल महिला, अपांगता भएका नागरिक आदिलाई हातमुख जोर्न संकट पर्न सक्ने अवस्था आउने भन्दै समयमै दृष्टि र योजना निर्माण गर्न सरकरको ध्यानाकर्षण गराउनुभएको छ ।