१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नेता नाभल्नीलाई विष दिइएको आशंका, अवस्था गम्भीर


0
Shares

Russia putin navalny poision

एजेन्सी, भदौं ४ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका कट्टर आलोचक विपक्षी एलेक्सी नाभल्नीलाई विष दिइएको आशंका गरिएको छ ।

गम्भीर अवस्थामा अस्पतालमा उपचाररत नाभल्नीलाई चियामा हालेर विष दिइएको आशंका गरिएको छ । अधिकारीहरुले उहाँको अवस्था गम्भीर रहेको जनाएका छन् ।

रुसमा भएको भ्रष्टाचार र पुटिनको मनोमानी शासनविरुद्ध आक्रमक अभियान छेडिरहेका नाभल्नीलाई चियामा विष हालेर दिइएको भ्रष्टाचारविरुद्धको फाउन्डेसनका सञ्चारसचिव किरा यरमिशले बताउनुभएको छ ।

बिहीबार बिहान टम्सकबाट विमानमा मस्को फर्किरहेका बेलादेखि उहाँ एक्कासी विरामी भएपछि आकस्मिक रुपमा ओम्स्कमा विमान अवतरण गराई अस्पताल लगिएको किराले जानकारी दिनुभयो ।

राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभल्नीले गत जूनमा संवैधानिक सुधारका नाममा गराइएको मतदानलाई संविधानको ठाडो उल्लंघन भएको बताउनुभएको थियो ।

सोही जनमत संग्रहको बहानामा पुटिनलाई अरु दुई कार्यकाल फेरि राष्ट्रपति बन्ने बाटो खुलाइएको छ ।

भ्रष्टाचारविरुद्धको फाउन्डेसनका सञ्चारसचिव किराका अनुसार विहान उहाँले चियाबाहेक अरु नखाएकाले त्यसैमा विष मिलाइएको हुनसक्ने जानकारी दिनुभएको छ ।

नाभल्नी राखिएको अस्पताललाई प्रहरीले नियन्त्रणमा लिएको, अस्पतालले परीक्षणमा ढिलाई गरेको र सूचनासमेत नदिइएको आरोप यारमिशले लगाउनुभएको छ ।

भ्रष्टाचारविरुद्ध अभियानमा रहेका नाभल्नीले पुटिनको यूनाइटेड रसिया पार्टीलाई ‘बदमाश र चोरको पार्टी’ भन्ने गर्नभएको छ । पुटिन सत्ताले उहाँलाई कयौं पटक जेल पठाइसकेको छ ।

२०१३ मा जेल पठाइएका उहाँलाई सन् २०१८ भएको राष्ट्रपति निर्वाचनमा उम्मेदवार नै बन्न दिइएन ।

फेरि सन् २०१९ जुलाईमा अनधिकृत रुपमा विरोध प्रदर्शन गरेको आरोपमा एक महिना जेल हालिएको थियो ।

जेलमै हुँदा पनि उहाँ स्वास्थ्य नराम्ररी बिग्रिएको थियो । त्यही बेला पनि उहाँलाई विष दिइएको आशंका गरिएको थियो ।

सन् २०१७ मा त उहाँमाथि घातक आक्रमण नै गरिएको थियो । जसका कारण उहाँको आँखामा समस्या भएको थियो ।

पुटिन सरकारले नाभल्नीको एन्टी करप्सन फाउण्डेशनलाई विदेशी एजेन्ट नै घोषित गर्दिएको छ ।