१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सीसीएमसीको निर्णय उल्टियो, स्थगित उद्धार उडान फेरि शुरु गरिने


0
Shares

rescue flight cabinet ccmc

काठमाडौं, भदौ ५ । सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धार उडान फेरि थाल्ने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार उडान फेरि थाल्ने निर्णय गरेको हो ।

यसअघि कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सोमबार विदेशमा अलपत्र नेपालीको उद्धार रोक्न नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गर्दा अनुमति पाइसकेका चार्टर्ड उडानसमेत रद्ध गरिएका थिए ।

मन्त्रिपरिषद् बैठकले अब नियमित उडान भएका देशबाट नियमित उडानमार्फत र अन्य देशको हकमा चार्टर्ड उडानमार्फत उद्धार उडान गर्ने निर्णय गरेको हो ।

उद्धार उडान कहिलेबाट सुचालु गर्ने भन्ने निर्णय भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ ।

दैनिक बढीमा १५ सय जनासम्म ल्याउने निर्णय सरकारले गरेको छ । स्वदेश फर्कन चाहनेले ७२ घण्टा ननाघेको पीसिआर रिपोर्ट बुझाउनुपर्ने छ भने काठमाडौँमा सात दिनसम्म आफै रकम तिरेर क्वारेन्टिनमा बस्नुपर्नेछ ।

सरकारले हालसम्म विभिन्न ३० देशबाट झण्डै ५२ हजार नेपालीलाई स्वदेश ल्याएको छ । नाम उद्धार उडान भने पनि पैसा भने आउने व्यक्ति आफैले तिरेका छन् ।

यसअघि पर्याप्त क्वारेन्टिन तथा आइसोलेसन व्यवस्था नभएको भन्दै उद्धार उडान स्थगित गर्न उपप्रधानमन्त्री इश्वर पोखरेल संयोजकत्वको सीसीएमसीले दिएको थियोे ।

भदौ १ देखि उडान गर्ने पहिले निर्णय भएबमोजिम एयरलाइन्सहरुले उडान तालिका बनाइसकेका थिए । तर बीचमा आएर सिसिएमसीले रोक्न निर्देशन दिएको थियो ।

चार्टर्ड उडानमा भाडा धेरै भएको तथा टिकेटिङमा कालोबजारीसमेत भएको गुनासो आएपछि केही ठाउँमा नियमित उडान गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको तयारी छ ।