१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा पछिल्लो एक महिनामा झण्डै दोब्बरले कोरोना संक्रमित थपिए


0
Shares

काठमाडौं, भदौ ७ । विश्व्यापी महामारीका रुपमा फैलिरहेको (कोभिड–१९) को संक्रमण नेपालमा पछिल्लो एक महिनामा निकै उच्च गतिमा वृद्धि भएको छ ।

मृत्युदर र संक्रमण दर जुन गतिमा बढिरहेको छ, त्यसको तुलनामा निको हुने दर भने निकै न्यून छ ।

एक महिनाअघि निको हुने दर कुल संक्रमितको ६९ दशमलव ३४ प्रतिशत थियो ।

एक महिनापछि निको हुने दर ५९ प्रतिशतमा झरेको छ ।

सरकारका प्रवक्ता डा युवराज खतिवडाले गत साउन ५ को मन्त्रिपरिषद्को निर्णयअनुसार साउन ६ गते रातिदेखि बन्दाबन्दी हटेको घोषणा गर्नुभएको थियो ।

त्यसको आज एक महिना पूरा भएको छ । यही एक महिनाले विगतका सबै महिनाको भन्दा सङ्क्रमण र मृत्युदरमा नसोचेको परिणाम दिएको छ ।

स्थिति जटिलतातर्फ गइरहेकाले नागरिकले उच्च सावधानी अपनाउनु जरुरी रहेको जनस्वास्थ्य विज्ञले बताएका छन् ।

नेपालमा गत माघमा चीनबाट आएका एक नेपालीमा संक्रमण देखा परेको थियो ।

त्यसपछि चैत १० गते तेस्रो मुलुकबाट आएका दोस्रो नेपालीमा देखिएको थियो ।

संक्रमण फैलिन नदिन सरकारले चैत ११ देखि बन्दाबन्दी जारी गरेको थियो ।

क्रमशः संक्रमण वृद्धि हुँदै वैशाख अन्तिम सातादेखि तीन अङ्कमा संक्रमण देखिन थालेको थियो ।

असारमा केही कमी देखिएपछि सरकारले चार महिना लामो बन्दाबन्दीलाई साउन ६ गतेदेखि अन्त्य गरेको थियो ।

बन्दाबन्दी अन्त्य भएर गतिविधि चलायमान हुँदा मुलुकका सबै जिल्लामा मानिसहरु विनासावधानी घुलमिल भए ।

त्यसैको परिणाम अहिले देखिन थालेको छ । अहिले एकैदिन ११ जनासम्मको मृत्यु भएको र एकै दिन एक हजार बढी नयाँ संक्रमित भेटिएका छन् ।

गत साउन ६ गतेसम्म कुल संक्रमितको संख्या १७ हजार ९ सय ९४ थियो ।

यो संख्या बढेर भदौ ६ मा ३१ हजार १ सय १७ पुगेको छ ।

प्राप्त तथ्याङ्क विश्लेषण गर्दा साउनअघि भएको कुल मुत्युभन्दा पछिल्लो एक महिनामै तीन गुणा बढीले मानिसको मृत्यु भएको छ ।

साउन ६ गतेसम्म कोभिड–१९ संक्रमित ४२ जनाको मृत्यु भएको थियो ।

साउन ६ देखि भदौ ६ सम्म एक महिनाका अवधिमा मात्रै १०४ जनाले ज्यान गुमाए ।

शनिबारसम्म संक्रमितमध्ये १ सय ४६ को मृत्यु भइसकेको छ ।

यही महिनामा संक्रमण दर पनि उच्च भएको छ ।

अन्य महिनाको कुल सङ्क्रमितभन्दा एकै महिनामा दोब्बरले संक्रमित थपिएका छन् ।

साउनत्यसदिन कुल १७ हजार ९९४ संक्रमित रहेकामा मन्त्रालयले एक महिनापछि सोही दिन अर्थात् भदौ ६ गते सार्वजनिक गरेको विवरणमा कुल संक्रमित १३ हजार १ सय २६ थपिएर ३१ हजार १ सय १७ जना पुगेका छन् ।

साउन ६ गते काठमाडौंमा कुल १५० नयाँ संक्रमित भेटिएका थिए भने भदौ ६ गते नयाँ संक्रमित ६ सय ३४ जना भेटिए ।

त्यसबेला काठमाडौँ उपत्यकामा नगण्य संक्रमित रहेकामा अहिले दैनिक १५० देखि २०० को हाराहारीमा नयाँ बिरामी भेटिँदै आएका छन् ।

त्यसमा पनि ८० देखि ९० प्रतिशत काठमाडौँ जिल्लाका छन् ।