१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


टोखा नगरपालिकाले प्रत्येक वडाका १०० जनाको पिसीआर परिक्षण गर्ने


0
Shares

काठमाडौं, भदौ ९ । टोखा नगरपालिकाले प्रत्येक वडाका १०० व्यक्तिलाई पिसिआर परीक्षण गर्ने भएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको दर बढेसँगै काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले अग्र भागमा खटिएर काम गर्ने प्रत्येक वडाका १०० व्यक्तिको पिसीआर परिक्षण गर्न लागेको हो ।

नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बढी भीडभाड हुने खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पसल, माछामासु, फोहोरमैला सङ्कलनमा संलग्न व्यक्ति र कोभिड–१९ को लक्षण देखिएका व्यक्तिको पिसीआर परीक्षण गर्न लागेको जानकारी दिनुभयो ।

परीक्षणका लागि प्रत्येक वडामा विवरण सङ्कलन गर्न आग्रह समेत गरिएको छ ।

टोखा नगरपालिकाभित्र ११ वडा रहेका छन् ।

टोखाले हालसम्म एक हजार ४४७ जनाको पिसीआर परीक्षण गरिसकेको छ जसमध्ये १२० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

रिपोर्ट पोजेटिभ देखिएकामध्ये ५० जना निको भएर घर फर्किसकेका छन् । यस्तै दुई जना सम्पर्कविहिन छन् भने दुईजनाको मृत्यु भइसकेको र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रवक्ता बस्यालले बताउनुभयो ।

यही भदौ ७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अगाडि ८३ जनाको पिसीआर परिक्षण गरेकोमा ५५ जनाको नेगेटिभ, नौजनाको पोजेटिभ रिपोर्ट आएको थियो ।

उक्त रिपोर्टसँगै सङ्क्रमितको सङ्ख्या १२० पुगेको हो । उपत्यका नगरपालिका फोरमको सोमबार बसेको बैठकले उपत्यकाभित्रका स्थानीय तहमा कन्ट्याक ट्रेसिङ र पिसीआर परिक्षणलाई तीव्रता दिने निर्णय गरेअनुसार टोखामा पनि सो परीक्षणलाई तीव्रता दिन लागिएको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकाभित्र १८ स्थानीय तह रहेका छन् । उपत्यका नगरपालिका फोरमको तथ्याङ्कअनुसार काठमाडौं उपत्यकामा दुई हजार ७४६ सङ्क्रमित छन् ।

उक्त फोरमले भदौ १५ सम्म उपत्यकामा १५ हजारभन्दा बढीको पिसिआर परीक्षण गर्ने जनाएको छ । रासस