
काठमाडौं, भदौं १० । स्पेनिस क्लब बार्सिलोनाका लेजेण्ड फर्वार्ड लियोनल मेस्सीले क्लब छोड्न पत्र पठाएपछि यो विषय कानूनी लडाईंसम्म पुग्ने देखिँदैछ ।
आफ्नो जीवनको सुन्दर २० वसन्त बार्सिलोनामा बिताएका ३३ वर्षीय अर्जेन्टाइनी खेलाडी मेस्सीलाई त्यही क्लबबाट निस्कनका लागि कानूनी बाटो अख्तियार गर्नुपर्ने अवस्थामा पुग्नु पर्यो भने त्यसले विश्व फुटबललाई कस्तो सन्देश देला ?
अहिले यो विषयले विश्व फुटबल बजार गर्माएको छ । जसले आफ्नो जीवनको सम्पूर्ण क्षमता क्लबको हितका लागि खर्चिए उनैलाई कुनै दिन त्यही क्लब छाड्नु पर्दा अदालत डोरिनुपर्यो भने संसारभरका फुटबलप्रेमीको मन कति खिन्न होला ?

तर यो सम्भव हुन सक्छ । किनकी यो वैश्य युग हो । यहाँ सबै विषय वैश्य अर्थात् पैंसाले निर्धारण गर्दछ । हुनत मेस्सी स्वयं पनि त्यत्तिकै क्लबमा रोकिएका होइनन् । उनले पनि आफूले भनेजति पारिश्रमिक लिएरै खेलेका हुन् ।
तर त्यही पैंसाको किचलोमा एक दिन आफैले आफ्नो दोस्रो घर ठानेको क्लबसँग रातो मुख लगाएर निस्कनुपर्ने बन्दछ भने एक सर्वकालिक फुटबलरका लागि त्योभन्दा नमीठो र चिमोटिरहने प्रसंग के बन्ला र ?
तर त्यो क्षणसम्म मेस्सीले क्लब अनुबन्ध छाड्ने मनसायसहित पठाएको पत्र पुग्छ वा क्लबले बीचको बाटो लिएर ससम्मान मेस्सीलाई बिदाई गर्छ वा कुनै बीचको बाटो खोज्दै क्लबले उनलाई रोक्न सफल हुन्छ त्यसका लागि भने अबको केही महिनाहरुमा चित्र प्रष्टिने छ ।

मेस्सीले मंगलबार पठाएको पत्रले भने संसारभरका उनका समर्थकहरुमा खैलाबैला मच्चाइदिएको छ । कुनै समय उनी स्वयंले आफ्नो फुटबल जिन्दगी बार्सामै अन्त्य गर्ने बताएको सुनेका समर्थकहरुका लागि यो मीठो खबर पक्कै होइन ।
त्यसैले त मेस्सीले क्लब छोड्न चाहेको खबर सार्वजनिक भएलगत्तै क्याटालन क्षेत्रमा रहेको नाउ क्याम्प बाहिर समर्थकहरु भेला भएर बार्सिलोनाको बोर्डविरुद्ध तथा क्लबका कीर्तिमानी गोलकर्ता मेस्सीको समर्थनमा प्रदर्शन गरिरहेका छन् ।

बार्सिलोना अगस्ट १६ को च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा बार्यन म्युनिखसँग ८–२ ले नराम्ररी पराजित भएपछि क्लबसँग निराश रहेका मेस्सी नयाँ प्रशिक्षकमा अर्जेन्टिनी फरवार्ड रोनाल्ड कोम्यानको नेतृत्वमा खेल्न अनिच्छुक देखिएको जनाइएको छ ।

दुई दशक बार्साको छहारीमा रहेका ६ पटकका बालोन डी’ओर अवार्ड विजेता मेस्सीले सन् २००४ मा बार्सिलोनाबाटै डेब्यू गरेका थिए । बार्सिलोनाबाट चारपटक च्याम्पियन्स लिगको उपाधि जितेका उनले अहिलेसम्म अरु कुनै क्लबबाट खेलेका छैनन् ।
यता मेस्सीको पत्र पाएपछि बार्सिलोनाले भने उनीसँगका सबै व्यवस्था समाप्त भएको र सन् २०२१ सम्मको सम्झौतामा उनलाई ७०० मिलियन युरोमा किन्न सक्ने जनाएको छ । मेस्सीको पत्रबारे छलफल गर्न चाँडै नै बोर्डको बैठक बस्ने जनाइएको छ ।

मेस्सीको सम्झौतामा जुन १० भन्दा पहिले जानकारी गराएमा स्वतन्त्र मूल्यमा क्लब छोड्ने अधिकार हुने भए पनि ढिला जानकारी गराएको भन्ने विषयमा क्लब अदालत जानसक्ने देखिएको हो ।
जुन १० को मिति गुजारेर जानकारी दिएको तर्क क्लबको छ भने मेस्सी र उनको टिम भने कोरोना भाइरसको महामारीका कारण यो सिजन लम्बिएकाले आफ्नो सम्झौतामा रहेको व्यवस्थाको समय थपिनुपर्ने तर्क गर्दैछन् ।
सन् २००० देखि क्लवमा रहेका मेस्सीसँग बार्साले पछिल्लो पटक सन् २०१७ मा गरेको सम्झौतामा साप्ताहिक रुपमा ५ लाख ६५ हजार यूरो (७९ करोड ६ लाख ६५ हजार नेपाली रुपैयाँ) तिर्ने सहमति गरेको थियो । र यो सम्झौताको अवधि सन् २०२१ को जुन ३० मा सकिँदैछ ।

बार्सिलोनालाई दश पटक लीग टाइटल जिताएका मेस्सीलाई एक सर्वकालिक महान् फुटबलर मानिन्छ । उनले क्लबका अधिकांश रेकर्ड तोडेर नयाँ बनाएका छन् ।
क्लबका अध्यक्ष जोसेफ मारिया बार्तोमेउले मेस्सीले क्लबसँगको अनुबन्ध टुटाउन धेरै पटकदेखि भनिरहेको स्वीकार्दै उनी अझै पनि संसारकै सबैभन्दा महान् खेलाडी हुन् तर अब उनीसँगको एक युग सकिएर अर्को शुरु हुने समय आएको टिप्पणी गरेका छन् ।
मेस्सीले बार्सा छाड्दा उनीमाथि सबै क्लबको आँखा परेपनि उनलाई अनुबन्ध गर्नसक्ने हैसियत भने केही सीमित क्लबसँग मात्र रहेको बताइएको छ ।
जसमा उनका पूर्व हाकिम पेप गोर्डियालोले हाँकिरहेको म्यानचेस्टर सिटी, फ्रेन्च क्लब पिएसजी वा इन्टरमिलान हुनसक्ने खबरहरु पनि आएका छन् । (एजेन्सीको सहयोगमा)
प्रतिक्रिया दिनुहोस्