
डडेलधुरा, भदौ १० । सुदूरपश्चिम प्रदेशको मौलिक र सांस्कृतिक महत्व बोकेको गौरा पर्व आज धुमधामका साथ मनाईदैछ ।
गौरालाई यी क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा मनाउने गरेका छन् ।
सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जंगल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ ।
गौरा पूजा गर्न कुश, काँस, सामा, तीतेपाती र अपामार्ग जस्ता वनस्पतिको प्रयोग गरिन्छ ।
यसरी बनाइएको देवीलाई भाद्र शुक्ल अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर ब्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको छ ।
यो पर्वमा केराउ, जौ, मस्याङ, मास र गुराँसको दाना भाद्र शुक्ल पञ्चमीका दिन भिजाएर राखिन्छ ।
यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रूपमा बिरुडा चढाउने र भक्तजनलाई पनि प्रसादका रूपमा बाँडिन्छ ।
देशका अरु भागमा तीज मनाएझैं पश्चिममा यो पर्व विशेष गरी नारीहरूले मनाउने गर्दछन् ।
यस दिन सुदूरपश्चिमका बासिन्दाले देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्दछन् ।
सस्कृतिको माध्यमबाट सुख दुख साँटासाँट गर्नका साथै सामाजिक सदभाव कायम हुने बिभिन्न गतिबिधिहरु गर्ने परम्परा रहेपनि यस वर्ष कोरोना महामारीका कारण गौरा पर्व पनि प्रभावित बन्न पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्