१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रौतहटमा हिरासतमा राखिएका युवकको मृत्युबारे मानव अधिकार आयोगले थाल्यो अनुसन्धान


0
Shares

NHRC press release

काठमाडौं, भदौं १२ । रौतहटमा हिरासतमा राखिएका विजयराम चमारको मृत्युबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको छ ।

प्रहरी हिरासतमा रहँदा यातना दिँदा उनको मृत्यु भएको भनिएको विषयमा आयोगको प्रदेश नं. २ कार्यालय जनकपुरले अनुसन्धान थालेको आयोगका प्रवक्ता वेद भट्टराईले जानकारी दिनुभएको छ ।

चमारको स्वास्थ्य परीक्षण प्रतिवेदनको प्रतिलिपी तथा पोष्टमार्टम प्रतिवेदनको प्रतिलिपी शीघ्र उपलब्ध गराउन आयोगले जिल्ला प्रहरी कार्यालय रौतहट तथा त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभाग महाराजगञ्जलाई पत्राचार गरेको छ ।

विजयराम चमार रौतहटको गरुडा नगरपालिका– ८ का निरञ्जन रामको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका थिए । हिरासतभित्रै बिरामी परेका उनको उपचारका क्रममा वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो ।

यसअघि पनि प्रदेश २ को धनुषामा प्रहरी हिरासतमा शम्भु सदाको मृत्यु, प्रादेशिक अस्पताल जनकपुरधाममा राजु सदाको मृत्यु, सप्तरीमा त्रिभुवन रामको हत्या, सिरहामा रोशन रामको हत्यालगायत मधेसमा दलित समुदायमाथि श्रृंखलाबद्ध रूपमा हत्या, हिंसा तथा जातीय विभेदका घटना भएको पनि आयोगले जनाएको छ ।

यी घटना नेपालको संविधान, ऐन कानुन र नेपालले अनुमोदन गरेका संयुक्त राष्ट्रसंघीय महासन्धिविरुद्ध रहेको भन्दै आयोगले यस्ता अमानवीय र आपराधिक घटनाको सूक्ष्म र निष्पक्ष छानविन तथा अनुसन्धान गरी घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ ।

पीडित परिवारलाई तत्कालै उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र यस्ता घटना पुनरावृत्ति हुन नदिन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।