१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महाधिवेशनको चक्रब्यूह, देउवाको नेतृत्व र काङ्ग्रेसको भविष्य


0
Shares

nepali congress convention president leadership

तेजप्रसाद लामिछाने

नेपाली काङ्ग्रेसको १३ औ महाधिवेशन र यसले ल्याएको परिमाण इतिहासकै दुर्भाग्यपूर्ण रहयो ।अहिलेको पार्टी नेतृत्वले बिपिको जस्तो दुरदृष्टि, सुर्वणको जस्तो दानविरको भावना, गणेशमान सिंह जस्तै त्याग र स्वाभिमान अनि किसुनजी जस्तो निष्ठा र सादगीको संस्कारलाई पुरै तिलाञ्जली दियो, अग्रजहरुको महान त्याग र बलिदानबाट निर्मित यो पार्टीको अस्तित्व अहिले संकटग्रस्त छ। अहिले नेपाली काङ्रेस १४ औ महाधिबेशनको संघारमा छ । थुप्रै अन्योलका बिच हुने यस महाधिवेशनबाट आउने पार्टी नेतृत्व र पार्टीले बनाउने नीतिका आधारमा यसको भविष्य निर्धारित हुने कुराले सवर्त्र चासो छ । आमचासोलाई सम्बोधन गर्दै पार्टीलाई पुनर्जीवन दिनेतर्फ यो महाधिवेशन केन्द्रित हुनुपर्छ ।

आफै सरकारको नेतृत्व गरेर २०७४ सालको आमचुनावमा प्रत्यक्षतर्फको निर्वाचनमा १६५ मा १०० सिट जित्ने फुर्तिका साथ चुनाबमा होमिएको काङ्रेसले जम्मा २३ सिटमा खुम्चिनु पर्यो । पार्टी पराजितको समिक्षा गर्न बसेको केन्द्रीय समितिको बैठकमा लोकतन्त्र र नैतिकता बहस चल्दै गर्दा पार्टी नेतृत्वले केही केन्द्रीय नेतालाई बैठकमै अनुशासनको कारवाही गर्छु भनेर पुरै अल्कोहलिक ब्यवहार देखायो ।

यसरी फसिरहेको छ काङ्ग्रेस महाधिवेशनको चक्रब्यूह

जिल्ला सभापतिहरूको राय बुझ्न र परामर्श गर्न २०७५ असार हेटौंडामा आयोजित भेलामा चुनाबको समिक्षा, कमजोर नेतृत्व क्षमतामाथी आलोचना र सिघ्र अधिबेशनको बहस चल्दै गर्दा दुर्भाग्यवश भर्खर प्रवक्तामा नियुक्ति भएका विश्वप्रकाश शर्माले आफ्नो सहजीकरणमा मध्यरात होटलको बन्द कोठाभित्र इतरपक्षको नेता रामचन्द्र पौडेल र सभापति देउवाबिच गोप्य भद्र सहमति गराए । भेलाको बन्द सत्रमा केन्द्रीय शिर्ष नेताहरु भित्र पस्न निषेध, समापनको मन्तव्यमा एकाएक पुर्व महामन्त्री प्रकाशमान सिंहको नाम हटाउदा समेत टिमको नेता रामचन्द्र पौडेलले नेतृत्वको बिरोध गर्न नसकेनन् ।

सिघ्र अधिबेशन लक्षित २०७५ पुषमा भएको काठमाडौंको महासमिति बैठकमा सहमहामन्त्री डा प्रकाशसरण महतले भेलामा सहभागी प्रतिनिधिले मन्तब्य राख्न खोज्दा माइक भाचेको त्यो दृश्य पञ्चायतकालको मण्डले प्रवृत्तिको दादागिरी भन्दा कम थिएन । सम्बोधनको क्रममा सभापति देउवाले सहभागीलाई हपारेको त्यो भाइरल भिडियो हेर्दा राणाकालमा राणाको बिरोध गर्दा बिपि र गणेशमानलाई मोहन सम्शेरले हकारेको झल्को दिने खाल्को थियो । उदघाटन सत्रमा मुख बाराबार बैठकको मध्यभागमा एक्कासी पौडेल र देउवाको मित्रता बढेपछि महासमिति बैठक पनि उपलब्धिबिहीन बन्यो ।

चार वर्षीय नियमित कार्यकाल सकिनै लाग्दा आफ्ना गुटका मान्छेसंग देउवा निवासमा मिटिङ्ग बसेर पार्टी आफू अनुकुल बनाउन बिधानको धारा निलम्बन गर्ने, एक्लै अधिबेशनको कार्यतालिका तयार गर्ने । बुढानिलकण्ठ दरवारमा तयार गरिएको रेडिमेट माइन्युटलाई केन्द्रीय समितिको बैठकमा जबर्जस्त निर्णय गराउन खोज्नु त राष्ट्रिय पञ्चायत जस्तो भएन र ? विधि बिपरितको त्यो निर्णयविरुद्ध इतरपक्षबाट व्यापक बिरोध भयो तर अर्थ रहेन । अहिले सत्तापक्षबाट ओली, इतरपक्षबाट सिटौला र युवा नेताबाट बिश्वप्रकाश शर्मा यी ३ जना झापाली राजनेताको बिशेष सहयोग र सल्लाह अनि कुटिल चार्तुयतामा अधिबेशन नगरिकन दुई कार्यकाल कुर्सीमा बस्ने दाउमा छन् देउवा । भर्खर अधिबेशन सिध्दिए जस्तो गरेर बिभाग गठन गर्दै छन् काम चलाउ सभापति देउवाले । पौडेलको कमजोर राजनैतिक अडान र ढुलमुल ब्यवहारमा देउवाको अतिबादलाई रोक्न सक्ने तागत देखिएन ।

नेतृत्वको अतिवाद रोक्न पौडेलपक्ष भन्ने शब्द परिवर्तन गरि नेता प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी, नेता सुजाता कोईराला, नेता डा शेखर कोईराला, नेता गगन थापा, नेता नबिन्द्रराज जोशी, नेता गुरुराज घिमिरे, धनराज गुरुङ्ग, चन्द्र भण्डारी लगायत दर्जनौं युवा नेताको सामुहिक निर्णय र सहमतिमा बृहत र शक्तिशाली देउवा इतरपक्ष टिम गठन होस् । वरिष्ठतमको आधारमा स्वाभिमानी र निडर स्वभावका कर्मशिल पुर्व महामन्त्री प्रकाशमान सिंहलाई टिमको नेतामा सर्वम्मत गराएर जान सक्यो भने, अधिबेशन छल्न खोज्ने देउवालाई रोक्न सक्ने यो बाहेक अर्को विकल्प पनि देखिदैन । सामुहिक नेतृत्वको यो टिममा देउवा कमजोर हुने गरि उनी निकट रहेका धेरै केन्द्रीय नेताहरु पनि अटन सक्ने सम्भावना ज्यादै प्रवल देखिन्छ ।

१३ औं अधिबेशनमा देउवाले आफ्नो टिमको महामन्त्री माथी अन्तर्घात गरेर महामन्त्रीमा आफुलाई जिताएको कुरा टिभी अन्तर्वार्तामा बिपि पुत्र कोईरालाले आफै स्वीकारे । पार्टीको भन्दा नेतृत्वको माया गर्ने महामन्त्री कोईराला देउवाप्रति शुरुदेखी नै नरम देखिन्छन् । मिनेन्द्र रिजालको साथ लिएर दलको नेतामा देउवालाई साथ दिएका नेता कोईराला पनि अधिवेशनको पक्षमा देखिएनन् ।

नेपाली काङ्ग्रेसभित्र देउवाको उपस्थिति र पार्टी नेतृत्वको अन्तरसम्बन्ध ।

बनारसी ज्योतिष पण्डाको बिश्वासमा परेर आफू ७ चोटि प्रधानमन्त्री बन्ने सपना बाडेर पार्टीलाई भोट माग्ने बिचरा पार्टी सभापति देउवाले आफ्नै श्रीमती आरजु राणालाई समेत सासद जिताउन सकेनन् । पार्टी नेतृत्वले भरतपुर गएर काङ्ग्रेसको आमसभामै हँसिया हटौडामा भोट नहाले कारवाही गर्छु भन्न मिल्छ ? तनहुँ, कञ्चनपुर र डडेल्धुरामा झै अनुशासन चितवनमा चाहिदैन र ? केन्द्रीय कमिटीमा छलफल र निर्णय बेगर गुटका नाइके देउवा, पौडेल र सिटौला मिलेर भागबण्डामा चुनाबको टिकट दशैको उपहार चिठ्ठा बाडे जस्तो गरेपछि देशभर घात अन्तर्घात हुन्छ नै ।

संस्थागत रूपमा सिंहदरवार देखि गाउँ गाउँसम्म भएका अरबौंको भ्रष्टाचारले ओली सरकारप्रति जनता आक्रोशित छन् । ठुला भ्रष्टाचार मुद्दामा प्रतिपक्षी दल नेपाली काङ्ग्रेस चुप छ, मिडिया मार्फत बाहिर आएको वाइडबडी काण्ड, बालुवाटार ललिता निवास काण्ड र एनसेल कर छली भ्रष्टाचारमा ओली सरकारका मन्त्रीहरुसंग काङ्ग्रेस नेतृत्वको पनि नाम जोडिएको कुरा राष्ट्रिय मिडियाबाट भाईरल बन्छ । सभापति सहित केन्द्रीय पदाधिकारी चुप बस्ने किन ? संसदमा दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक, ताक न तुकका कुरामा ब्यक्तिगत धारणा भनेर आफ्ना बिचार ट्विट गर्ने पार्टी प्रवक्ता शर्माजीको सरकारले गरेको भ्रष्टाचारको यो महासंकटमा किन बोली फुटदैन ?

मञ्चबाट धार्मिक प्रवचन जस्तो बिपिको कथा सुनाएर न त काङ्ग्रेस सुध्रिन्छ नत चुनाब नै जित्छ। अपराधी पक्रदा, पार्टीको नेतालाई भ्रष्टाचारको आरोप लाग्दा सदन अवरोध गर्न सक्ने पार्टी नेतृत्वले अरबौ अरबको भ्रष्टाचार गर्ने राष्ट्रघाती शत्रु ओलीका भ्रष्ट मन्त्रीको बिरोधमा बोल्न किन डराएको ? आम जनता र काङ्ग्रेस कार्यकर्तालाई काङ्ग्रेस नेतृत्वप्रति आक्रोश र घृणा यहि छ ।

राजधानीको विशाल आमसभामा नेता प्रकाशमान सिंहले वाइडबडी जहाज अङ्कित ठूलो बेलुन हावामा उडाउने हिम्मत गरे । विभिन्न आमसभा, सोशियल मिडिया र टेलिभिजन अन्तर्वार्तामा नेता अर्जुननरसिंह केसी, नेता डा शेखर कोईराला, नेता गगन थापा, नेता नबिन्द्रराज जोशी, नेता धनराज गुरुङ, नेता गुरु घिमिरे, नेता प्रदिप पौडेल, नेता राजन केसी जस्ता धेरैबाट बिरोध त भयो । पार्टी पदाधिकारी र ससद सचिवालयमा नरहेका यिनिहरुको बिरोधले भ्रष्टाचार गर्नेहरु जेल जाने स्थिति बनेन ।

अबको पार्टी नेतृत्व र काङ्ग्रेसको भबिष्य

पार्टी महामन्त्रीको कार्यकाल स्वर्णिम बनाएका नेता प्रकाशमान सिंह । बौद्धिक एवं तार्किक बक्ता मतदाता प्रतिनिधिहरु माझ लोकप्रिय नेता अर्जुननरसिंह केसी । राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीती परिवेशमा राम्रो दखल राख्ने प्रखरबक्ता डा शेखर कोईराला । कार्यकर्ता माझ लोकप्रिय युवा नेता एवं कर्मशिल चर्चित पुर्वमन्त्री गगन कुमार थापा र नबिन्द्रराज जोशी । नैतिकवान चरित्र, भ्रष्टाचार बिरोधी स्वभाव, सामुहिक नेतृत्वको भावना सहितको यो समीकरण पार्टी पुनर्जीवनको लागि उत्कृष्ट देख्छन् आमकार्यकर्ताहरु ।

यस्तै बिचार र भावना मिल्ने अनि कार्यकर्ता माझ लोकप्रियता कमाएका धेरै नेता अटाउन सक्ने अधिबेशनको लागि बलियो टिम बन्न सक्छ यो । मतदाता प्रतिनिधि छनोटपछि महाधिवेशनको मुखमा आएर आपसी समझदारीमा मुख्य नेतृत्वमा जो पनि आउन सक्छ । २०४८ सालदेखि अहिलेसम्म लाखौंदेखि अरबौंसम्मका भ्रष्टाचार गर्नेहरु पार्टीका हुन वा बाहिरका जोसुकै हुन् जेल हाल्ने चुनाबी घोषणापत्र सहितको चुनाबी रणनीति बन्न सक्यो भने आगामी चुनावमा नेपाली काङ्ग्रेसलाई सत्तामा पुर्याउन कसैले रोक्न सक्दैन ।

लेखक गणेशमान सिंह स्मृति पुस्तकालय , रुपन्देहीको अध्यक्ष हुन् ।