
काठमाडौं, भदौ १३ । नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक गोविन्द केसीमाथि प्रहरीले गरिरहेको गैरमानवीय कार्य तत्काल रोक्न माग गरेको छ ।
डा. केसीलाई आफू बसेको ठाउँबाट बाहिर जान, हिँडडुल गर्न सुक्षाकर्मीले रोकेको घटनाबारे ध्यानाकर्षण भएको जनाउँदै संघले त्यस्तो कार्य तत्काल रोक्न माग गरेको हो ।
शनिबार एक विज्ञप्ति निकाली संघले दुर्गमका जनतालाई स्वास्थ्य सेवा प्रदान गरेर चिकित्सकीय धर्म निर्वाह गरिरहेका केसीलाई बिनाकारण सुरक्षा घेरामा राख्ने, हिँडडुल गर्न नदिने, नागरिकसँग सम्पर्क गर्न नदिने अत्यन्तै अस्वाभाविक र गैरमानवीय कार्य भइरहेको भन्दै आपत्ति जनाएको हो ।
केही समय यता जुम्ला जिल्लामा रहनुभएका डाक्टर केसीलाई बुधबार प्रहरीले घेराबन्दी गर्दै उहाँ बसेको होटलमै नजरबन्द गरेको थियो । बाटोमा हिड्नसमेत उहाँमाथि अवरोध गरिएको थियो ।
आफूसँग गरेको सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै केसी अनशन बस्न खोज्दै हुनुहुन्छ । साउन ११ गतेदेखि जुम्लामा रहनु भएका उहाँले आफ्नो सत्याग्रह स्थगित गरेको समयमा त्यहाँका दुर्गम बस्तीहरुमा पुगेर नागरिकलाई सेवा दिइरहनुभएको छ ।
डा. केसीले आफ्ना माग पूरा गर्न सरकारलाई फेरि एक साताको समय दिनुभएको छ ।
यता, डा. केसीमाथि गरिएको अमानवीय हर्कतको विरोधमा न्यायका लागि मानवअधिकार राष्ट्रिय सञ्जालले पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
डा. केसीमाथि गरिरहेको यस्ता खाले अमानवीय कार्य रोक्न सञ्जालले विज्ञप्तिमार्फत् आग्रह गरेको हो ।
प्रतिक्रिया दिनुहोस्