
काठमाडौं, भदौ १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित बिरामीहरुलाई थप उपचारका लागि रिफर गर्दा समन्वय गरेर मात्र रिफर गर्न अस्पतालहरुलाई आग्रह गरेको छ ।
मन्त्रालयले अस्पतालसँग समन्वय नगरी रिफर गर्दा अस्पतालमा शैया नभएर विरामीको ज्यान गए त्यसको जिम्मेवारी सोही अस्पतालले लिनु पर्ने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमितलाई विना स्वास्थ्यकर्मी र रिफर गरिने अस्पतालसँग समन्वय नगरी नपठाउनसमेत आग्रह गर्नुभयो ।
यस्तै मन्त्रालयले उपचारमा खटिएका स्वास्थ्यकर्मी, नर्स र चिकित्सकहरुलाई क्वारेन्टिनको व्यवस्था मिलाउन अस्पतालहरुलाई निर्देशन दिएको छ ।
चिकित्सक स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेको खर्च मन्त्रालयले नै ब्यहोर्ने भन्दै मन्त्रालयका प्रवक्ता डा. गौतमले अस्पतालहरुले क्वारेन्टिनको व्यवस्था नगरे त्यसको जानकारी मन्त्रालयमा गराउन पनि स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्