
काठमाडौं भदौ १६ । दुई दिन केही सफा भएको नेपालको मौसम मंगलबारदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार मौसम अधिकांश क्षेत्रमा सफा भए पनि आजदेखि तीन दिन बदली हुनेछ ।
मौसमविद् समिर श्रेष्ठले अहिले मुलुकका विभिन्न क्षेत्रमा पानी परिरहेको जानकारी दिनुभयो ।
मनसुन न्यूनचापीय रेखा नेपालको पूर्व र मध्य क्षेत्रको अलि नजिक आएकाले धेरैजसो स्थानमा मौसम बदली छ ।
श्रेष्ठका अनुसार प्रदेश १ र २ मा हल्का पानी परिरहेको छ ।
मंगलबार मौसम पश्चिमतिर पनि सर्ने क्रममा रहेकाले वाग्मती प्रदेशमा पनि बदली भएर ठाउँठाउँमा पानी परिरहेको छ ।
वाग्मती र गण्डकीसहित प्रदेश १, २ र ५ का केही स्थानमा मंगलबार र बुधबार भारी वर्षाको सम्भावना छ ।
पश्चिम सर्ने क्रममा बुधबार कर्णाली र सुदूरपश्चिममा पनि असर गर्ने श्रेष्ठले बताउनुभयो ।
“थोरै ठाउँमा भारी वर्षा हुन्छ, हल्का पानी भने मुलुकका अधिकांश ठाउँमा पर्छ”, मौसमविद् श्रेष्ठले भन्नुभयो ।
प्राप्त विवरणअनुसार आज प्रदेश १ का ताप्लेजुङ र धनकुटा तथा वाग्मती प्रदेशका रसुवा र काठमाडौँमा पानी परेको छ ।
गोरखाको बारपाक स्टेशनले सबैभन्दा बढी पानी परेको देखाएको छ ।
मंगलबार प्रदेश नं ५ को पूर्वी भूभाग नवलपुर बर्दघाट क्षेत्रमा पानी परेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा बुधबार मौसम बदली भई समग्रमा तीन दिन धेरै स्थानमा पानी पर्ने सम्भावना छ ।
पछिल्लो केही दिन खासै पानी नपरेकाले माटोमा पानी सोस्ने क्षमता वृद्धि भएको तर भारी वर्षा भयो भने जोखिम कायमै रहेको जनाइएको छ।
अहिले मनसुन सक्रिय नै छ ।
मुख्यतः सेप्टेम्बर २३ देखि मनसुन हराउँदै जाने तर नेपालमा एकै पटक मनसुन घट्ने नभई पाकिस्तानबाट विस्तारै फर्किँदै जाने हुन्छ ।
त्यसपछि मात्रै नेपालबाट हट्छ । “पछिल्ला केही वर्षको अवस्था हेर्दा अक्टोबर पहिलो हप्तासम्म मनसुन सक्रिय भएको देखिन्छ”, मौसमविद् श्रेष्ठले भन्नुभयो, “यसपालि पनि सेप्टेम्बरमा मनसुन सकिने सम्भावना कम छ ।”
यसपालि नेपालमा औसत मनसुन रहे पनि मनसुनपूर्व नै भारी वर्षा हुँदा जमिन गलेकाले पहिराका ठूलो घटना हुन पुग्यो ।
यसबाट जनधनको ठूलो क्षति भएको छ । रासस
प्रतिक्रिया दिनुहोस्