१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुसी विपक्षी नेता नाभाल्नीलाई विष दिइएको पुष्टि, जर्मनी आक्रोशित


0
Shares

Russia putin navalny poision

एजेन्सी, भदौं १७ । रुसी विपक्षी नेता एवं भ्रष्टाचार विरोधी अभियानका एक सशक्त योद्धा एलेक्सी नाभल्नीविरुद्ध विष दिइएको पुष्टि भएको छ ।

रुसी राष्ट्रपति भ्लादीमीर पुटिनका कट्टर आलोचक नाभल्नीलाई नोविचोक नर्व एजेन्टमार्फत् विष दिइएको जर्मनीको सरकारले जनाएको हो ।

जर्मनीको एक सैन्य प्रयोगशालामा टोक्सिकोलोजी परीक्षण गर्दा नोविचोक समूहको एक एजेन्टको स्पष्ट प्रमाण फेला परेको जर्मनीले जनाएकोहो ।

रुसको साइबेरिया क्षेत्रमा एक उडानका क्रममा अचानक अस्वस्थ भई कोमामा गएपछि नाभल्नीलाई विशेषज्ञ उपचारका लागि जर्मनीको बर्लिन लगेर उपचार भइरहेको छ ।

नाभल्नीको समूहका मानिसहरु उनलाई राष्ट्रपति पुटिनकै आदेशमा विष दिइएको दावी गर्दछन् । तर क्रेमलिनले भने यस आरोप निराधार रहेको भन्दै अस्वीकार गरेको छ ।

जर्मन सरकारले नाभल्नीमाथि गरिएको यस हर्कतको निन्दा गर्दै तत्काल स्पष्टीकरण दिनका लागि रुसलाई भनेको छ ।

यसबारेमा चान्सलर एञ्जेला मर्केलले आफ्ना वरिष्ठ मन्त्रीहरुसँग छलफल नै गरेको समाचारमा जनाइएको छ ।

उता क्रेमलिनले भने नाभाल्नीको शरीरमा विष भेटिएको भन्नेबारेमा जर्मन सरकारबाट कुनै जानकारी नआएको जनाएको छ ।

जर्मन सरकारले भने ईयू र नाटोलाई पनि यसबारेमा जानकारी गराइने जनाएको छ । ल्याब परीक्षणको प्रतिवेदनको जानकारी नाभल्नी पत्नी युलिया र जर्मनीका लागि रसियन राजदूतलाई पनि गराइने जनाइएको छ ।

नाभल्नीलाई विषयुक्त चिया खुवाएको आरोप उहाँका समर्थकहरुले लगाइरहेका छन् । टम्सकबाट विमानमा मस्को फर्किरहेका बेला एक्कासी विरामी भएपछि आकस्मिक रुपमा नाभल्नीलाई ओम्समा विमान अवतरण गराई उहाँलाई अस्पताल लगिएको थियो ।

राष्ट्रपति पुटिन सत्ताले रुसमा गरिरहेको भ्रष्टाचारको कट्टर आलोचक नाभल्नीले गत जूनमा संवैधानिक सुधारका नाममा गराइएको मतदानलाई संविधानको ठाडो उल्लंघन भएको बताउनुभएको थियो ।

सोही जनमत संग्रहको बहानामा पुटिनलाई अरु दुई कार्यकाल फेरि राष्ट्रपति बन्ने बाटो खुलाइएको छ ।

भ्रष्टाचारविरुद्ध अभियानमा रहेका नाभल्नीले पुटिनको यूनाइटेड रसिया पार्टीलाई ‘बदमाश र चोरको पार्टी’ भन्ने गर्नुभएको छ । पुटिन सत्ताले उहाँलाई कयौं पटक जेल पठाइसकेको छ ।

२०१३ मा जेल पठाइएका उहाँलाई सन् २०१८ भएको राष्ट्रपति निर्वाचनमा उम्मेदवार नै बन्न दिइएन ।