१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आन्तरिक उडान कहिले ?


0
Shares

काठमाडौं, भदौ १८ । वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) ले सरकारका कारण आन्तरिक हवाई उडानका विषयमा अन्योल बढेको बताएको छ ।

सञ्चालकहरुले कोरोना संक्रमण हुनै नदिने गरी सम्पूर्ण स्वास्थ्य मापदण्डहरु पुरा गरेर उडान गर्ने बताएपनि सरकारका कारण आन्तरिक उडानमा ढिलाइ भएको सञ्चालक संघको भनाइ छ ।

सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले सम्पूर्ण ‘स्वास्थ्य प्रोटोकल’ पुरा गरी उडानको तयारी अवस्थामा सञ्चालकहरु रहेको बताउनुभयो ।

विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल वायु सेवा निगमले जारी गरेका मापदण्डअनुसार आन्तरिक उडान गर्न सञ्चालकहरु सक्षम रहेपनि खुला नगरेको भन्दै उहाँले तिव्र असन्तुष्टि जनाउनुभयो ।

भदौ १६ गतेबाट विदेशमा अलपत्र नागरिकहरुको उद्धारका लागि सरकारले नियमित अन्तर्राष्ट्रिय उडानहरु खुला गरेपनि आन्तरिक उडान खोलेको छैन ।

प्राविधिक, जनशक्ति र सम्पूर्ण स्वास्थ्य प्रोटोकलका हिसाबले तयार हुँदा पनि ढिलोमा असोज १ गतेबाट सरकारले आन्तरिक उडान खुला नगरे पर्यटन क्षेत्रका सबैले व्यवसाय बन्द गरेर तालाचाबी सरकारलाई बुझाइने थापाको भनाई छ ।

कोरोनाको जोखिम कम गर्न सरकारले गत चैत ११ गतेबाट लकडाउन गरेको थियो ।

४ महिनाको लकडाउन सकिएपनि आन्तरिक हवाई उडानहरु सञ्चालन हुन सकेका छैनन ।

केही समय छोटो दुरीका यातायात खुलेपनि उपत्यकालगायत विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएपछि यातायात सेवा पनि बन्द छन् ।