१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाविरूद्धको रसियन खोपले जगायो आश, सबैमा एन्टीबडी विकास गरेको बैज्ञानिकहरुको दाबी


0
Shares

corona vaccine russia success antbody

एजेन्सी, भदौ २० । रसियाले निर्माण गरेको कोभिड–१९ खोप (स्पुतनिक–५)ले प्रारम्भिक चरणका सबै सहभागीमा एन्टीबडी विकसित गर्न सफल भएको नतिजा प्रकाशित गरिएको छ ।

चर्चित मेडिकल जर्नल ‘द लानसेट’ले रसियाले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोपले शरीरमा एन्टीबडी सफलतापूर्वक विकास गरेको जनाएको हो ।

यद्यपि, अमेरिकासहितका पश्चिमा राष्ट्रहरूले भने यो खोपप्रति आशंका व्यक्त गर्दै आइरहेका छन् । मस्कोले भने खोपका आलोचकहरूलाई जर्नलले नै जवाफ दिएको टिप्पणी गरेको छ ।

जर्नलले लेखेको छ, दुई वटा परीक्षणमा सबै सहभागीमा बिना कुनै गम्भीर दुष्प्रभाव खोपले कोरोना भाइरसविरूद्ध शरीरमा शतप्रतिशत प्रतिरोधी क्षमताको विकास गरेको छ ।

लानसेन्ट जर्नल लेख्छ, ‘४२ दिनको अवधिमा ३८ जना स्वस्थ्य वयस्क मानिसलाई समेत समावेश गरी दुई पटक दिइएको खोपले परीक्षणमा सहभागी कसैलाई गम्भीर असर गरेको भेटिएन र खोपले सहभागीमा एन्टीबडी बनाएको पाइयो ।’

रुसले यसै वर्षको जुन–जुलाईमा ७६ जनामा खोप दिएर परीक्षण थालेको रसियाले अगस्टमा भने दुई मात्राको यो खोपलाई घरेलु प्रयोगका लागि अनुमति दिएको थियो ।

कोरोनाविरूद्धको खोप तयार पारेर आमप्रयोगका लागि अनुमति दिने रुस विश्वको पहिलो मुलुक हो ।

जर्नलले कोभिड १९ को संक्रमणलाई रोक्न दीर्घकालीन सुरक्षा र प्रभावकारिता स्थापित गर्न मनोवैज्ञानिक तुलनासहितको व्यापक दीर्घकालीन परीक्षण र थप निगरानी आवश्यक पर्ने पनि औल्याएको छ ।

केही पश्चिमा विज्ञहरूले भने अन्तर्राष्ट्रिय रूपमा खोपको प्रमाणिक परीक्षण र नियमन बिना प्रयोग गर्न दिँदा खतरा हुनसक्ने तर्फ सचेत गराएका छन् ।

रुसका एक वरिष्ठ अधिकारीले भने अन्तर्राष्ट्रिय स्तरमा नै विश्वसनीय रहेको जर्नलले समीक्षा प्रकाशित गरेकाले विदेशी आलोचकका लागि राम्रो जवाफ भएको जनाएका छन् ।

पछिल्लो हप्ता रसियाले करिब ४० हजार मानिसमा यसको पछिल्लो चरणको परीक्षण शुरु गरेको जनाएको छ ।

जोन्स हप्किन्स ब्लुमवर्ग स्कूल अफ पब्लिक हेल्थ, अमेरिकाको इन्टरनेशनल भ्याक्सिन एक्सेस सेन्टरका प्रमुख लेखक डा. नोर बारजीभले प्रारम्भिक परीक्षणको नतिजालाई ‘उत्साहजनक तर सानो’ भन्ने प्रतिक्रिया दिएका दिनुभएको छ ।