१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रेस्टुरेन्ट तथा पार्टी प्यालेस व्यवसायीहरु कृषि व्यवसायतिर पलायन हुँदै


39
Shares

नारायणी लामिछाने (ईमेज)
काठमाडौं, भदौ २१ । कोरोना (कोभिड १९) का कारण पार्टी प्यालेस तथा रेस्टुरेन्ट व्यवसाय लामो समय बन्द हुँदा व्यवसायीहरु पलायन हुने स्थितिमा पुगेका छन् ।

झण्डै ५० हजार व्यक्तिको रोजगारी संकटमा परेको छ ।

जावलाखेल स्थित बगैचा रेस्टुरेन्ट, बार एण्ड याङक्वेटमा अहिले कुखुरा पालन सुरु भएको छ ।

रेस्टुरेन्टका व्यवस्थापक अर्जुन दाहालले कोभिडका कारण लामो समय व्यवसाय सञ्चालन गर्न नसकिएपछि लोकल कुखुरा, टर्कि, कडकनाथ, कालिज लगायत पाल्न थालिएको बताउनुभयो ।

बैंकको ऋण तिर्न, घरभाडा तिर्न र कर्मचारीलाई तलब खुवाउन समस्या हुने देखेपछि लोकल कुखुरा लगायतका चराहरु पाल्न थालिएको पनि उहाँले बताउनुभयो ।

करिब ५ करोड रुपैयाँ लगानीमा सञ्चालित बगैचाले रेस्टुरेन्ट सेवा, पार्टीप्यालेस लगायतको सेवा उपलब्ध गराउँदै आएको थियो ।

२५ जनाले रोजगारी पाउँदै आएको रेस्टुरेन्टमा अहिले २ जना मात्रै कार्यरत छन ।

रेस्टुरेन्ट व्यवसाय जस्तै देशभर सञ्चालित अधिकांश पार्टी व्यालेस व्यवसायीहरु पनि पलायन हुने अवस्थामा पुगेका छन् ।

वैशाख, जेठ र असार महिना पार्टी प्यालेस व्यवसाय सबैभन्दा बढी चल्ने समय हो ।

तर ती महिनामा पार्टीप्यालेस सञ्चालन गर्न नपाउँदा अर्बौं रुपैयाँ नोक्सान भएको व्यवसायीहरुले बताएका छन् ।

पार्टीप्यालेस व्यवसायी महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले अवको तीन चार महिना यसैगरी बन्द भएमा उपत्यकामा मात्रै २ सय भन्दा बढी व्यवसायीहरु विस्थापित हुने बताउनुभयो ।

महासंघमा आवद्ध देशभरका पार्टी प्यालेस व्यसायमा ५० हजार भन्दा बढी व्यक्तिले रोजगारी पाउँदै आएका छन् ।

७० प्रतिशत व्यवसाय बैंकको ऋणबाट सञ्चालित रहेकोमा सरकारले किस्ता र ब्याज रकम व्यवसाय पुनः सञ्चालनमा आएपछि मात्रै तिर्ने व्यवस्था मिलाउन समेत महासंघले अपिल गरेको छ ।

कोभिड कै बिचमा पनि व्यवसाय सञ्चालन गर्नका लागि सरकारले मापदण्ड तयार गरिदिनुपर्नेमा व्यवसायीहरुको जोड छ ।

भिडियो हेर्नुहोस्