
काठमाडौं, भदौ २२ । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भदौ २५ गते देखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।
नाडाको सोमबार बसेको पदाधिकारी बैठकले भदौ २४ गते सम्म निषेधाज्ञाको समय रहेकाले २५ गतेदेखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो ।
नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले १ सय ८० दिनसम्म सरकारको आदेश मानेर बसेको अवस्थामा अब हुने लकडाउनको पालना नगर्ने गरी सबै व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताउनुभयो ।
अध्यक्ष दुलालले सरकारले देशको अर्थतन्त्रलाई बुझेर व्यवसाय गर्न पाउने गरी सहजिकरण गर्नुपर्ने बताउनुभयो ।
सरकारले त्यस्तो व्यवस्था नगरेपनि निषेधाज्ञालाई तोडेर अथवा विद्रोह गरेर भएपनि व्यवसाय सञ्चालन गर्ने बताउनुभयो ।
अध्यक्ष्य दुलालले सरकारी कर्मचारीहरुले काम नगरेपनि तलब भत्ता आइराख्ने भएकाले कोरोना संक्रमण देखिए देखि नै लकडाउन गर्नुपर्छ भनिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
घरमै बसिबसि तलब भत्ता आउने भएपछि किन लकडाउन खोल्ने भन्ने मानसिकता कर्मचारी र राजनीतिज्ञहरुमा रहेको दुलालको भनाई छ ।
पछिल्लो समय भारत पाकिस्तान लगायत विश्वभर लकडाउन खुलिसकेको अवस्थामा नेपालमा पनि खोल्नुको विकल्प नभएकोले लकडाउन समस्याको समाधान नभएकाले सुरक्षित भएर काम गर्नु नै देशको आवस्यकता रहेको नाडाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्