१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१० घण्टामा जोडियो छिनिएको हत्केला


0
Shares

काठमाडौं, भदौ २४ । राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले छिनिएको हत्केला जोड्न सफल भएका छन् ।

सेन्टरका प्रा. डा. पियूष दाहालको नेतृत्वमा १० चिकित्सक सर्लाही जिल्ला पर्सा गाउँपालिकाका वडा नंं २ का १८ वर्षीय रवि सिंहको पूरै छिनिएको दाहिने हत्केलाको शल्यक्रिया गरी जोड्न सफल हुनुभएको हो ।

सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिण्डेन्डेट डा. सन्तोष पौडेलले चिकित्सकले १० घण्टा लगाएर ती बिरामीको छिनिएको दाहिने हत्केला शल्यक्रियामार्फत जोड्न सफल भएको बताउनुभयो ।

सेन्टरले बिरामीका औँलाले पूर्ण रुपमा काम गर्न थालेपछि मात्र शल्यक्रियाबारे जानकारी गराएको उहाँले जानकार दिनुभयो ।

दक्षिणकालीको एक कारखानामा काम गरिरहेका बेला सिंहको हत्केला छिनिएको थियो ।

“हात छिनिएको एक घण्टामा ती बिरामी हाम्रो अस्पतालमा आए”, उहाँले भन्नुभयो, “ त्यसपछि हाम्रो शल्यक्रिया गर्ने समूहले उक्त हात जोड्ने काम गरेको हो ।

१० घण्टाको अथक प्रयासपछि हात जोड्न सफल भयौँ ।” ती व्यक्तिको दक्षिणकालीको कारखानामा काम गर्ने सिलसिलामा फ्लेक्स पाइप मेसिनबाट गत असार २९ गते साँझ ५ बजे दाहिने हत्केला पूरै छिनेर दुई टुक्रा भएको थियो ।

चिकित्सकको समूहले अस्पतालमा बिरामी आएपछि साँझ ७ बजेदेखि अर्को दिन बिहान ५ बजेसम्म शल्यक्रिया गरी हात जोड्न सफल भएको थियो ।

सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिण्डेन्डेट डा. पौडेलका अनुसार यसअघि औँला जोड्ने गरिएकामा हत्केला भने पहिलो पटक जोडिएको हो ।

ती बिरामीको हत्केला जोड्नका लागि १८ चलाउने नशा, पाँच नशा, तीन आर्टरी र चार हड्डी जोड्नुपरेको थियो ।

शल्यक्रियामा प्रा. डा. दाहालसहित डा. कृष्ण मानन्धर (प्लाष्टिक सर्जन) डा. अपार लामिछाने (प्लाष्टिक सर्जन), डा. कमलराज पाठक (प्लाष्टिक सर्जन रेजिडेन्ट) तथा एनेस्थेसियाका डा. रुपेश यादव, डा. छिरिङ शेर्पा र नर्सिङ टिमका पिङ्की लागेजु र अनुपमा फुयाँल रहनुभएको थियो ।

ती व्यक्तिले गत साउन २२ गते डिस्चार्ज भई स्वास्थ्यलाभ गर्दै अहिले फिजियोथेरापीमा फिजियो गराइरहेको जनाइएको छ । रासस