१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मिर्गौला बिरामीको निःशुल्क कोरोना बीमा


0
Shares

रुपन्देही, भदौ २५ । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलायसिस गराइरहेका बिरामीको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका बिरामी सङ्क्रमणको उच्च जोखिममा रहेकाले निःशुल्क बीमा गरिदिने निर्णय गरिएको हो ।

अस्पतालका अध्यक्ष एजाज आलमले बीमा कम्पनीसँग सम्झौता गरी निःशुल्क रुपमा रु. एक लाखको कोभिड–१९ बीमा गर्ने निर्णय गरिएको बताउनुभयो ।

सरकारले मिर्गौलाका बिरामीको डायलायसिस निःशुल्क गरे पनि अन्य औषधि तथा बेलाबेलामा गर्नुपर्ने प्रयोगशाला परीक्षणलाई निःशुल्क गरेको छैन ।

अस्पतालले भने डायलायसिसबाहेक बेलाबेलामा गर्नुपर्ने रुटिन र भाइरल टेष्टसमेत सबै बिरामीको निःशुल्क गर्दै आएको छ ।

त्यस्तै अतिविपन्न, परिवारबाट अपहेलित तथा परिवारमा रेखदेख गर्ने कोही नभएका मिर्गौलाका बिरामीको औषधि वितरण तथा अन्य उपचार पनि अस्पतालले निःशुल्क गर्दै आएको छ ।

त्यस्तै कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण सार्वजनिक सवारी साधन चल्न नसक्दा डायलायसिसका लागि अस्पताल आउने बिरामीलाई नियमित अस्पताल ल्याउने र छाड्ने व्यवस्थासमेत गर्दै आएको छ ।

अस्पतालले डायलायसिसका बिरामीलाई लैजान र छाड्नका लागि कपिलवस्तुको वाणगंंगा नगरपालिकाको बनगाई र नवलपरासीको बर्दघाटसम्म नियमित रुपमा बस पठाउने गरेको छ ।

अस्पतालमा हाल ४२६ जनाले मिर्गौलाको नियमित डायलायसिस गराउँदै आएका छन् । रासस